कोल्हबीको नयाँबस्तीबाट अवैध काठ चिरानमा संलग्न दुई जना पक्राउ

रञ्जन यादब /बारा

बारा जिल्लाको कोल्हबी नगरपालिका–१, नयाँबस्तीमा अवैध काठ चिरान गर्दै गरेका दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा कोल्हबी–४ निवासी ६७ वर्षीय चतुरी चौधरी र ५५ वर्षीय भेदर चौधरी रहेका छन् ।

डिभिजन वन कार्यालय बाराबाट प्राप्त विशेष सूचनाको आधारमा गएको टोलीले घरको पछाडि लुकिछिपी हाते आराले काठ चिरेर झ्याल र ढोका बनाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको कोल्हबी सब डिभिजन बन कार्यालयका छैठो तह अधिकृत कृष्ण पटेलले जानकारी दिए ।

सुरक्षा कारबाहीमा कोल्हबी सब–डिभिजन वन कार्यालयको टोलीसँगै जनपथ प्रहरी र सशस्त्र प्रहरी बलको समेत सहकार्य रहेको उनले बताए । बरामद गरिएको १३.२२ क्युफिट काठसहित पक्राउ परेका व्यक्तिहरूलाई डिभिजन वन कार्यालय बाराको थुनुवा कक्षमा राखिएको छ ।

अवैध रूपमा काठ तस्करी तथा चिरान रोक्न सुरक्षा निकायले कडाइ गर्दै आएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजिव कुमार झाले जानकारी दिए ।उनले प्राप्त सूचनाका आधारमा छापा मार्दा यो कारबाही सफल भएको बताए । थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने डिभिजनल बन अधिकृत झाले जानकारी दिए ।