जीतपुरसिमरामा सञ्चालित एचपीभी खोप अभियानको प्रारम्भिक रिपोर्ट सार्वजनिक

रञ्जन यादब/बारा

जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सञ्चालित पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान २०८१ को प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिएको छ।

रिपोर्टअनुसार विभिन्न विद्यालयहरूमा खोप अभियान सञ्चालन गरिएको थियो, जसमा कुल ७,०५७ छात्राहरूले खोप लगाएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।रिपोर्टका अनुसार विद्यालय जाने छात्राहरूको कुल संख्या ६,११७ थियो भने विद्यालय नजाने छात्राहरूको संख्या १,७३३ रहेको थियो।

खोप कार्यक्रम अन्तर्गत लक्षित समूहका ७,८५० छात्राहरूलाई खोप दिने लक्ष्य राखिएको थियो। खोप अभियान अन्तर्गत माघ २३ देखि माघ २९ गतेसम्म खोप लगाईएको थियो ।विद्यालय अनुसार खोप प्रतिशत फरक फरक देखिएको छ, कतिपय विद्यालयहरूमा खोप लगाउने प्रतिशत १००% भन्दा बढी रहेको छ भने केही विद्यालयहरूमा अपेक्षाकृत कम रहेको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले बताए ।

औसत रूपमा खोपको वितरण प्रतिशत ८९.९०% रहेको छ ।उपमहानगरपालिकाका स्वास्थ्य शाखाले खोप अभियान सफल बनाउन शिक्षण संस्थाहरू, अभिभावकहरू, स्वास्थ्यकर्मीहरू तथा स्वयंसेवकहरूको महत्वपूर्ण योगदान रहेको जनाएको छ। उपमहानगरपालिकाले आगामी दिनमा समेत यस्ता स्वास्थ्य अभियानलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।