जीतपुरसिमराले नगरभरिका सामुदायिक बिद्यालयका ४ सय ६२ जना शिक्षकको तलब खातामा सिधै पठायो ,शिक्षकहरु खुसीले गद्गद्

उपमहानगरपालिकाको कार्यालयले  सामुदायिक बिद्यालयको  शिक्षक तथा कर्मचारीहरुको तलब मासिक रुपमा सिधैँ खातामा पठाउन थालेपछि बारा जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षकहरु खुसीले गद्गद् भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले सोमबार नगरभरिका बिद्यालयका ४ सय ६२ जना शिक्षक तथा कर्मचारीहरुको तलब सिधै खातामा पठाएपछि शिक्षकहरु खुसी भएका हुन ।

जिल्लामै पहिलोपटक शिक्षकको खातामा सिधै तलब पठाउन शुरु गर्दा शिक्षकहरुमा खुसियाली छाएको छ । त्रैमासिक रुपमा तलब पाउँदै आएका शिक्षकहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाले फागुनदेखि नियमित रुपमा मासिक तलब दिने व्यवस्था मिलाएको हो । सोमबार सबै शिक्षकको माघ महिनाको तलब ब्यक्तिगत खातामा निकासा भइसकेको नगरप्रमुख राजन पौडेलको सचिवालयले जनाएको छ ।

यसअघि उपमहानगरपालिकाले विद्यालयको खातामा तलब पठाउने गरेको थियो । विद्यालयको खातामा उपमहानगरपालिकाले पठाएको पैसा फेरि शिक्षकको खातामा पठाउन प्रधानाध्यापकहरुले एक सातासम्म लगाउने गरेका थिए ।

लेखापाल नभएका आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई तलब निकासा अतिरिक्त बोझका रुपमा रहेको थियो । नेरामावि फतेपुरकी मावि शिक्षक लिला दाहालले सामाजिक सञ्जालमा उपमहानगरलाई धन्यवाद दिएकी छिन् । ‘पहिलोपटक शिक्षकहरुको मासिक तलबभत्ता शिक्षकहरुको खातामा दाखिला गरिदिनुभएकोमा उपमहानगरपालिकालाई धन्यबाद, आज छुट्टै खुशीको अनुभुती ।’ दाहालले फेसबुकमा लेखेकी हुन् ।

यसगरी अन्य विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि खुसी व्यक्त गरेका छन ।