बेलवा गाउँमा छापामारीः ६.८० क्युफिट साल काठको गोलिया बरामद

रञ्जन यादब /पर्सा

वीरगन्ज महानगरपालिका वडा नं. ३१ स्थित बेलवा गाउँमा छापामारीका क्रममा ६.८० क्युफिट साल काठको गोलिया बरामद गरिएको छ । सबैया सब–डिभिजन बन कार्यालयबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको टोलीले परालमा लुकाएको अवस्थामा गाउँको एक घरको छेउबाट उक्त काठ फेला पारेको डिभिजन बन कार्यालय पर्साको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बन कार्यालयका अनुसार काठ तस्करीको आशंकामा उक्त क्षेत्रमा निगरानी बढाइएको थियो । प्राप्त सूचनाका आधारमा गरिएको छापामारीबाट काठ बरामद भएको र यस घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको डिभिजनल बन अधिकृत अहमदले बताए ।

बरामद काठलाई सबैया सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ । डिभिजन बन कार्यालय पर्साले अवैध काठ तस्करी रोक्न विशेष अभियान सञ्चालन गरिरहेको छ । बन कार्यालयले सबै नागरिकलाई वातावरण संरक्षण र वन सम्पदाको संरक्षणमा सहयोग गर्न अपिल गरेको छ ।

त्यस्तै बड्निहार सब डिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले बिहिबार २० वटा साईकलमा लोड दाउरा नियन्त्रणमा लिएको बन अधिकृत नवनीत मिश्राले जानकारी दिए । जमदारा रामअयोध्या प्रसाद साहको नेतृत्वमा गएको टोलीले २० थान बञ्चरो सहित उक्त परिमाणको दाउरा नियन्त्रणमा लिएको हो ।