जीतपुरसिमराको १० औँ नगर सभा विरुद्ध परेको रिट उच्च अदालतले खारेज

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भएको १० औँ नगर सभा विरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजले रिट खारेजको निर्देशनात्मक आदेश जारी गरेको छ ।

पौष ८ गते आज न्यायधिशद्धय ऋषिराम निरौला र भरत लम्सालको ईजलासले रिट खारेजको निर्देशनात्मक आदेश जारी गरेका हुन् । जारी भएको निर्देशनात्मक आदेशको ब्याख्या भने आउँन बाँकी रहेको छ ।

गत असार १० गते सम्पन्न भएको नगरसभा नियम विपरीत रहेका कारण नगर सभा बदरको माग गर्दै उपप्रमुख भोलाप्रसाद अधिकारीसहित ९१ जना नगर सभा सदस्यहरु उच्च अदालत पुगेका थिए । उनीहरुले नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले विरुद्ध उत्प्रेरण परमादेशको माग राखेर असार २३ गते उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता गराएका थिए ।