बारामा २७ क्युफिट काठ सहित मानिस पक्राउ , सखुवाई गाउँमा छापामारी

रञ्जन यादब /बारा

डिभिजन बन कार्यालय बाराले एक जना मानिस सहित करिब २७ क्युफिटको काठ बरामद गरेको छ । सब डिभिजन बन कार्यालय हलखोरियाबाट साहयक बन अधिकृत नेपाली साहको कमाण्डमा गएको बन गस्ती टोलीले रुख काट्दै गरेको मानिस सहित ११.७१ क्युफिटको काठको गोलिया नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैरवा बस्ने बर्ष ३५ का फिरोज चौधरी रहेका छन् । उनलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले जानकारी दिए । त्यस्तै कोल्हबी नगरपालिका वडा नं.५ सखुवाई गाउँमा छापामारी गरी करिब १५ क्युफिट काठको गोलिया बरामद भएको छ ।

घर नजिकै परालले लुकाईछिपाई राखिएको अवस्थामा सालको काठ दुईवटा गोलिया र सिसौँको एउटा गोलिया गरी तीन थान काठको गोलिया बरामद भएको कोल्हबी सब डिभिजन बन कार्यालयका रेञ्जर अब्दुल करिमले जानकारी दिए । कोल्हबी सब डिभिजन बन कार्यालयका ,ईलाका प्रहरी कार्यालय सिहोर्वा र सशस्त्र बेश क्याम्प कोल्हबीबाट परिचालन भएको टोलीले काठ नियन्त्रणमा लिन सफल भएको थियो । काठ छापामारी गरेका टोलीमाथि महिलाहरु जाईलागेका थिए । उनीहरुले बन टोलीसँग तछारमछार गरेका थिए ।

कोल्हबी सब डिभिजन बन कार्यालयका रेञ्जर करिमले भने , “महिलाहरुबाट काठ बचाएर ल्याउँनु हाम्रोलागि ठुलो चुनौतीको बिषय छ । घरमा पुरुष हुन्छन् तर बाहिर आउँदैनन् । घरका महिलाहरु नै हामीसँग जुध्न आउँछन् । ˮनियन्त्रणमा लिएको काठलाई कोल्हबी सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

बरामद काठ , मानिस र तस्करहरुको बिषयमा आवश्यक अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।