रञ्जन यादब /बारा १३ कार्तिक
जीतपुरस्थित होलिराज इङ्गलिस स्कुलको आयोजनामा सम्पन्न दोस्रो अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा एमरल्ड एकेडेमी जीतपुर प्रथम भएको छ। प्रतियोगितामा एभरग्रिन स्कुल जीतपुर द्वितीय, जेपीईसी तृतीय र अमरेला एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजक बिद्यालयका प्रिन्सिपल सुधिरकुमार दासले जानकारी दिए ।

विद्यार्थीहरूको बौद्धिक क्षमता, ज्ञानको दायरा, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आठवटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगितामा जेपीईसी, सहिद स्मारक, एमरल्ड स्कुल, केयर भिजन स्कुल, ज्ञान निकेतन स्कुल, अमरेला स्कुल, हेरिटेज स्कुल परवानीपुर र एभरग्रिन स्कुल जीतपुरका विद्यार्थीहरू सहभागी भएका थिए। एउटा बिद्यालयबाट कम्तीमा एक जना छात्रा सहित तीन जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिता पाँचवटा चरणमा सञ्चालन गरिएको थियो। जसमा जनरल राउन्ड, अडियो राउन्ड, भिजुअल राउन्ड, ग्याम्बलिङ राउन्ड र ¥यापिड फायर राउन्ड समावेश थिए। विभिन्न चरणमा विद्यार्थीहरूले आफ्नो ज्ञान, स्मरणशक्ति, तत्काल निर्णय क्षमता र विषयवस्तुको बुझाइ प्रस्तुत गरेका थिए।

प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले शैक्षिक ज्ञानसँगै अतिरिक्त क्रियाकलापको महत्वसमेत उजागर गरेको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सहकार्य, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

एनप्याब्सनको सहकार्यमा आयोजित प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
होलिराज इङ्गलिस स्कुलका प्रिन्सिपल दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदेशसभा सदस्य चौधरी सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन आयोजक बिद्यालयका शिक्षक प्रितम गुप्ताले गरेका थिए ।





