रञ्जन यादब /बारा २९ असोज
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थागत विद्यालयका सञ्चालकहरूले राज्यले निजी विद्यालयमाथि विभेदकारी व्यवहार गरेको गुनासो गरेका छन्। शैक्षिक गुणस्तर सुधारमा योगदान पु¥याउँदै आएका संस्थागत विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा समेत समान अवसर नदिइएको उनीहरूको भनाइ छ ।
सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरूको आयोजनामा जीतपुरसिमरा वडा नं.१५, डुमरवानास्थित बेङ्गाई रिभर रिसोर्टमा आयोजित दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चालकहरूले यस्तो धारणा राखेका हुन्।कार्यक्रममा बारा एकेडेमीका सञ्चालक एवं जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडाध्यक्ष हरिदेव खरेलले सीमित शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै संस्थागत विद्यालयले रोजगारी सिर्जनामा समेत योगदान पु¥याएको बताउँनुभयो । उहाँले राम्रो नतिजा दिँदा पनि राज्यले समान व्यवहार नगरेको गुनासो गर्नुभयो ।एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले संस्थागत विद्यालयमा अध्ययन गरेकै आधारमा विद्यार्थीलाई छात्रवृत्तिबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताउँनुभयो।
त्यस्तै, जीतपुरसिमरा निजी विद्यालय संगठनका अध्यक्ष बसन्त ढकालले शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यालय सञ्चालक तथा प्रधानाध्यापकले थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा उपमहानगरभित्रका विभिन्न संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।




