बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकका लागि तीन दिने सकारात्मक अभिभावकीय तालिम सम्पन्न

रञ्जन यादब /बारा २१ भाद्र

बौद्धिक अपाङ्ग अभिभावक संघ बाराको आयोजनामा बौद्धिक तथा अन्य प्रकारका अपाङ्गता भएका बालबालिकाका परिवार र हेरचाहकर्ताहरूका लागि तीन दिने सकारात्मक अभिभावकीय सम्बन्धी तालिम सम्पन्न भएको छ । सिमरास्थित नेपाल अपाङ्ग सेवा संघ बाराको सभाहलमा भदौ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

तालिममा अपाङ्गता भएका बालबालिकाको उचित हेरचाह, संरक्षण, व्यवहार व्यवस्थापन तथा उनीहरूको क्षमता र अधिकारको सम्मान गर्दै सकारात्मक पारिवारिक वातावरण निर्माण गर्ने विषयमा प्रशिक्षण दिइएको आयोजक संस्थाले जनाएको छ ।तालिममार्फत अभिभावक तथा हेरचाहकर्ताहरूलाई बालबालिकासँग सकारात्मक सम्बन्ध स्थापना गर्ने, उनीहरूको आवश्यकता र व्यवहार बुझ्ने, आत्मनिर्भरता विकासमा सहयोग गर्ने तथा घरपरिवारमा समावेशी र सहयोगी वातावरण निर्माण गर्ने विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमसँगै जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्य तथा अपाङ्ग बाल अस्पताल तथा सम्बन्धित निकायहरूको सहयोगमा १८ वर्षमुनिका बालबालिकाको अपाङ्गताको पहिचान गर्ने कार्यसमेत सञ्चालन गरिएको थियो ।