रञ्जन यादव /बारा, १४ साउन
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरामा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बिहीबार सद्भाव ¥याली आयोजना गरिएको छ।विभिन्न धर्म, जातजाति, समुदाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको ¥याली सिमराका विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको थियो।

सहभागीहरूले समाजमा आपसी विश्वास, सहिष्णुता, धार्मिक स्वतन्त्रता तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाउने सन्देश दिएका थिए।¥यालीका क्रममा सहभागीहरूले “शान्ति, सद्भाव र सामाजिक एकता हाम्रो साझा प्रतिबद्धता“, “जात–धर्मभन्दा ठूलो मानवता हो“, “शान्ति हाम्रो समृद्धिको आधार हो“, “घृणा होइन, सद्भाव रोजौँ“ लगायतका नाराहरू लगाउँदै सामाजिक विभाजनभन्दा सहकार्य, सम्मान र भाइचाराको संस्कृतिलाई अघि बढाउन आग्रह गरेका थिए। सहभागीहरूले सुनसरीको घट्नालाई जोड्दै पछिल्लो समय समाजमा देखिएको विभिन्न प्रकारका द्वन्द्व, विभाजन र असहिष्णुताको अन्त्य गर्दै आपसी मेलमिलाप, सहअस्तित्व र पारस्परिक सम्मानको भावना विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

धर्म, भाषा, संस्कृति र परम्पराको विविधतालाई नेपालको साझा सम्पत्तिका रूपमा संरक्षण गर्दै सामाजिक सद्भाव कायम राख्नु आजको आवश्यकता भएको उनीहरूको भनाइ थियो। ¥यालीले शान्तिपूर्ण, सभ्य र समावेशी समाज निर्माणका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ। रयालीमा राखिएको ब्यानरमा बिभिन्न धर्म तथा समुदायका धार्मिक गुरुको फोटो ईङ्गकित गरेका थिए ।यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी विश्वास र सहयोगको वातावरण निर्माण गर्नुका साथै सामाजिक एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।




