रञ्जन यादब /बारा ३१ जेठ
“मधेस घुमौँ, मधेस बुझौँ” भन्ने नारासहित मधेस प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित चारदिने मधेस ट्राभल मार्ट आइतबार सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध मधेस प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रम नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिका को संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) ले गरेको थियो।

चार दिनसम्म सञ्चालन भएको मार्टमा मधेस प्रदेशका आठवटै जिल्लाका प्रमुख धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, परम्परागत परिकार र सम्पदाको व्यापक प्रचारप्रसार गरिएको थियो। आयोजक नाटाका मद्येस प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार नेपाल र भारतका विभिन्न सहरबाट दुई सयभन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर तथा पर्यटकको सहभागिता रहेको थियो।भारतका रक्सौल, पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्यालगायतका सहरबाट आएका पर्यटन व्यवसायीलाई मधेस प्रदेशका सम्भावनायुक्त पर्यटकीय क्षेत्रको प्रत्यक्ष अवलोकन गराइएको थियो। यस क्रममा सहभागीहरूले धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्यहरूको भ्रमण गरेका थिए।नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने ले भारतीय पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यका साथ ट्राभल मार्ट आयोजना गरिएको जानकारी दिए। उनका अनुसार मधेसका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई भारतीय पर्यटन बजारसँग जोड्ने प्रयासस्वरूप कार्यक्रम सञ्चालन गरिएको हो। यस्ता गतिविधिले नेपाल–भारतबीचको धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध अझ मजबुत हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रमको सचिवालय जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको थियो । शुक्रबार वीरगञ्जस्थित होटल सरोवरमा औपचारिक उद्घाटन गरिएको कार्यक्रममा सहभागीहरूलाई प्रारम्भमा गढीमाई मन्दिर को दर्शन गराइएको थियो। त्यसपछि टोली सिमरास्थित होटल क्लासिक प्लाजामा आयोजित पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थियो। भ्रमणको दोस्रो दिन सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट र पर्सा राष्ट्रिय निकुञ्ज मा जंगल सफारी गराइएको थियो। त्यसपछि टोली बर्दिबास हुँदै जनकपुरधाम पुगेको थियो। जनकपुरमा सहभागीहरूले मिथिला आर्ट ग्यालरी अवलोकन गर्नुका साथै जानकी मन्दिर दर्शन र साँझको आरती कार्यक्रममा सहभागिता जनाएका थिए। भ्रमणमा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले मधेस प्रदेश धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको प्रतिक्रिया दिएका छन्।
उनीहरूले नेपाल–भारत सीमा नाकामा पर्यटकमैत्री वातावरण सिर्जना गर्न चेकजाँच प्रक्रियालाई थप सहज र सरल बनाउनुपर्ने सुझाव दिएका छन्। साथै कम समय र कम खर्चमा धेरै गन्तव्य समेट्ने एकीकृत पर्यटन प्याकेज विकास गर्न सके भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने धारणा व्यक्त गरेका छन्। त्यसैगरी भारतीय सञ्चारकर्मीहरूको टोलीले मधेस प्रदेशका धार्मिक तथा प्राकृतिक सम्पदाले आफूहरूलाई प्रभावित बनाएको प्रतिक्रिया दिएको छ। उनीहरूले पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर, जानकी मन्दिर, चुरियामाई मन्दिर, भरतताल तथा ५५१ मिटर उचाइमा अवस्थित सिद्धबाबा मन्दिरलाई विशेष आकर्षणका केन्द्रका रूपमा उल्लेख गरेका छन्।
चारदिने भ्रमण तथा अवलोकन कार्यक्रमपछि आइतबार जनकपुरधामबाट सहभागीहरूलाई बिदाइ गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार मधेस ट्राभल मार्टले मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै भारतीय पर्यटक भित्र्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रको आर्थिक गतिविधि विस्तारमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।




