रञ्जन यादब /बारा ३० जेठ
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीले ट्राफिक प्रहरी कार्यालयको सहयोगमा ई–रिक्सा तथा ई–लोडर दर्ता र रुट परमिट सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ। उपमहानगरपालिका क्षेत्रको जीतपुर र सिमराका विभिन्न स्थानमा अभियान सञ्चालन गरी सवारी चालक तथा व्यवसायीहरूलाई कानुनी व्यवस्था बारे जानकारी गराइएको हो।
अभियानका क्रममा नगर प्रहरी टोलीले उपमहानगरपालिका क्षेत्रमा सञ्चालन भइरहेका ई–रिक्सा र ई–लोडरहरूलाई अनिवार्य रूपमा उपमहानगरपालिकामा दर्ता गरी रुट परमिट लिनुपर्ने व्यवस्था रहेको जानकारी गराएको छ। दर्ता तथा रुट परमिटबिनै सञ्चालन हुने सवारी साधनहरूले यातायात व्यवस्थापन, राजस्व संकलन तथा यात्रुको सुरक्षामा समस्या उत्पन्न गर्ने भएकाले सबै सवारीलाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गरिएको नगर प्रहरीले जनाएको छ।

नगर प्रहरी इन्चार्ज रबिन खड्काका अनुसार हाल पहिलो चरणमा चालक तथा व्यवसायीहरूलाई सचेतना दिइएको छ। यस अवधिमा आवश्यक कागजात पूरा गरी उपमहानगरपालिकामा दर्ता हुन र रुट परमिट लिन आग्रह गरिएको छ। उनले आगामी सोमबारदेखि भने नियम विपरीत सञ्चालन हुने ई–रिक्सा र ई–लोडरमाथि कानुन बमोजिम दण्ड तथा जरिवानाको प्रक्रिया अघि बढाइने जानकारी दिए। उपमहानगरपालिकाले पछिल्लो समय नगर क्षेत्रभित्र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न नियमनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही अभियान अन्तर्गत ई–रिक्सा र ई–लोडरलाई समेत अभिलेखीकरण गरी व्यवस्थित सञ्चालनको दायरामा ल्याउन लागिएको जनाइएको छ।

सचेतना अभियानका क्रममा नगर प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिहरूले चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, सवारी साधनका आवश्यक कागजात साथमा राख्न तथा यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिन समेत आग्रह गरेका छन्। उपमहानगरपालिकाले सम्बन्धित सबै सवारी धनी तथा चालकहरूलाई समयमै दर्ता प्रक्रिया पूरा गरी कानुनी व्यवस्था अनुसार सञ्चालन गर्न अनुरोध गरेको छ।




