जीतपुरसिमरा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

रञ्जन यादब /बारा ३० जेठ

जीतपुरसिमरा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। उपमहानगरपालिका वडा नं.५ बकुलियामा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले एक विशेष कार्यक्रमबीच पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो।घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले उपमहानगरपालिकाभित्र रहेका २४ वटा वडाका २५ स्वास्थ्य संस्थाको निरन्तर प्रयास, स्वास्थ्यकर्मीहरूको समर्पण र जनप्रतिनिधिहरूको सहयोगका कारण यो उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभयो।

सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद स्वास्थ्यकर्मीहरूले उच्चतम मेहनतका साथ खोप कार्यक्रमलाई सफल बनाएको भन्दै उहाँले प्रशंसा गर्नुभयो।पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ अनुसार राष्ट्रिय खोप तालिकामा समावेश सबै खोप तोकिएको उमेरभित्र प्राप्त गरेको सुनिश्चित भएपछि मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सकिने व्यवस्था रहेको छ। सोही मापदण्ड पूरा गरेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले यो उपलब्धि हासिल गरेको हो।उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भास्करका अनुसार पूर्ण खोप सुनिश्चितताको मुख्य रणनीति “खोज र खोप” अभियान हो।

यस अन्तर्गत प्रत्येक वर्ष माघ–फागुन महिनामा स्वास्थ्यकर्मीहरूको सहभागितामा जन्मेदेखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाको घरधुरी सर्वेक्षण गरिन्छ। सर्वेक्षणका क्रममा जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले लिइरहेका खोपको विवरण अद्यावधिक गरिने तथा खोप रजिस्टरसँग भिडाएर अभिलेख सुनिश्चित गरिने व्यवस्था रहेको छ।त्यसैगरी १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप पूरा गरे नगरेको यकिन गरिन्छ। सर्वेक्षणबाट छुट भएका बालबालिकाको पहिचान गरी सूक्ष्म योजना निर्माण गरिने, छुट खोप प्रदान गरिने तथा त्यसको प्रतिवेदन तयार गरी प्रतिबद्धता सुनिश्चित गरिने कार्यसमेत सञ्चालन हुँदै आएको छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। वक्ताहरूले खोप कार्यक्रमले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए।पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै जीतपुरसिमरा उपमहानगरपालिकाले बाल स्वास्थ्य संरक्षण तथा रोग नियन्त्रणको क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। कार्यक्रममा जिल्ला जन स्वास्थ्य कार्यालय बाराका प्रतिनिधि भागिरथ चौधरीको बिशेष उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन जाहिद हुसैनले गरेका थिए ।