रञ्जन यादब /बारा २६ जेठ
बारा जिल्लाको सिमरास्थित नव निर्मित जीतपुरसिमरा नगर अस्पताल अपाङ्गमैत्री नभएको भन्दै अपाङ्गता अधिकारकर्मी तथा अपाङ्ग अगुवाहरूले जीतपुरसिमरा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन्। अस्पताल भवनको अवलोकनका क्रममा हाल जडान गरिएका डट्स एण्ड लाइन टायल, शौचालय, टिकट काउन्टर तथा अन्य सेवा प्रवाह हुने स्थानहरू अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँचका लागि पर्याप्त रूपमा अनुकूल नभएको गुनासो गर्दै नेपाल अपाङ्ग सेवा संघ बाराका निबर्तमान अध्यक्ष गंगाप्रसाद वाग्लेले नगर प्रमुख राजन पौडेल तथा उपप्रमुख भोला प्रसाद अधिकारीसमक्ष सुधारको माग गरेका हुन्।
निबर्तमान अध्यक्ष वाग्लेले अस्पतालजस्तो संवेदनशील सार्वजनिक सेवा केन्द्रमा दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अन्य विशेष आवश्यकता भएका नागरिकहरूको सहज आवागमन र सेवा प्राप्तिको सुनिश्चितता हुनुपर्ने बताए। उनले अस्पताल परिसरमा ह्वीलचेयर प्रयोगकर्ताका लागि र्याम्प, पहुँचयुक्त शौचालय, संकेत चिन्ह, रेलिङ, लिफ्ट तथा सेवा कक्षहरूमा सहज पहुँचको व्यवस्था गर्न आग्रह गरे।
ध्यानाकर्षण कार्यक्रममा सहभागी नेपाल अपाङ्ग सेवा संघ बाराकी अध्यक्ष शोभा लामाले निर्माणाधीन तथा आगामी दिनमा निर्माण गरिने सबै सार्वजनिक संरचनामा अपाङ्गमैत्री मापदण्ड अनिवार्य रूपमा लागू गर्नुपर्ने धारणा राखेकी थिईन् । उनले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन तथा पहुँचयुक्त भौतिक संरचना निर्माणसम्बन्धी राष्ट्रिय मापदण्डको पूर्ण कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरिन् ।अपाङ्ग अगुवाहरूको सुझाव सुनेपछि नगर प्रमुख राजन पौडेलले तत्काल पूर्वाधार शाखाका कर्मचारीहरूलाई बोलाई आवश्यक सुधारका लागि निर्देशन दिएका थिए। उनले नगर अस्पताललाई सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य र सेवामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै देखिएका कमजोरीहरू शीघ्र सुधार गरिने बताए।
उपप्रमुख भोला प्रसाद अधिकारीले पनि अपाङ्गता भएका व्यक्तिहरूको सुझावलाई सकारात्मक रूपमा लिइएको उल्लेख गर्दै अस्पताल सञ्चालनअघि आवश्यक संरचनागत सुधार पूरा गरिने जानकारी दिए।नव निर्मित नगर अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको अवस्थामा अपाङ्गमैत्री पूर्वाधारको विषय उठेपछि अस्पताललाई समावेशी र पहुँचयुक्त स्वास्थ्य संस्था बनाउने विषयमा सरोकारवालाहरूबीच थप छलफल र समन्वयको आवश्यकता औँल्याइएको छ। स्थानीय अपाङ्गता अधिकारकर्मीहरूले अस्पताल पूर्ण रूपमा अपाङ्गमैत्री बनेपछि मात्र यसको उद्देश्य अनुरूप सबै नागरिकले समान रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।




