आमाडार विद्यालयमा नव निर्मित शौचालय हस्तान्तरण तथा सामाजिक लेखाजोखा सम्पन्न

रञ्जन यादब /बारा २२ जेठ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ आमाडारस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नव निर्मित शौचालय भवन हस्तान्तरण तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । लुमन्ति आवासका लागि सहयोग समूहको आर्थिक सहयोग तथा विद्यालयको सहकार्यमा निर्माण गरिएको शौचालय औपचारिक रूपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको लुमन्तिका सामाजिक परिचालक रबि तिबारीले जानकारी दिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, समुदायका अगुवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।आमाडारस्थित माझी टोल लुमन्तिको कार्यक्षेत्रभित्र रहेका १० समुदायमध्ये एक हो। उक्त समुदायका अधिकांश बालबालिका सोही विद्यालयमा अध्ययनरत रहेका छन्। समुदायस्तरमा गरिएको छलफल तथा अनुगमनका क्रममा विद्यालयको पुरानो शौचालय जीर्ण, अस्वच्छ र प्रयोगका लागि असुरक्षित रहेको विषय समुदायवासीहरूले उठाएका थिए। विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा सुरक्षित शैक्षिक वातावरणलाई ध्यानमा राख्दै शौचालय निर्माणको पहल गरिएको लुमन्तिले जनाएको छ।

समुदायको मागलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समिति र लुमन्तिबीच शौचालय निर्माण सम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार विद्यालयले करिब ७० हजार रुपैयाँ बराबरको दुई ट्रेलर इँटा उपलब्ध गराएको थियो भने लुमन्तिले ८ लाख रुपैयाँ आर्थिक सहयोगका साथै प्राविधिक निगरानी तथा व्यवस्थापन सहयोग गरेको लुमन्तिको कार्य क्षेत्र संयोजक अब्दुल कैसले जानकारी दिए ।गत पुस महिनाको अन्तिमतिर सुरु भएको निर्माण कार्य निर्धारित समयमै सम्पन्न भई जेठ महिनामा हस्तान्तरण गरिएको हो। नव निर्मित शौचालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै सुविधा, स्वच्छ पानीको व्यवस्था तथा सरसफाइमैत्री संरचना निर्माण गरिएको छ।हस्तान्तरण कार्यक्रममा बोल्दै उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीले विद्यालयमा गुणस्तरीय शौचालय निर्माण भएपछि विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ बानी तथा विद्यालयमा नियमित उपस्थितिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

सामुदायिक आवश्यकता पहिचान गरी गरिएको यस्तो सहकार्यले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए।सो अवसरमा आयोजना गरिएको सामाजिक लेखाजोखा कार्यक्रममा निर्माण कार्यको लागत, स्रोत परिचालन, खर्च विवरण तथा कार्य प्रगतिको जानकारी सार्वजनिक गरिएको थियो। सहभागीहरूले निर्माण कार्यको पारदर्शिता र गुणस्तरप्रति सन्तुष्टि व्यक्त गर्दै भविष्यमा पनि विद्यालय तथा समुदायको हितका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।नव निर्मित शौचालय सञ्चालनमा आएपछि विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले विद्यालयमा स्वच्छ, सुरक्षित र बालमैत्री वातावरण निर्माण गर्न थप टेवा पुग्ने विश्वास ब्यक्त गरेका थिए ।