विश्व वातावरण दिवसको अवसरमा जीतपुरसिमरामा फोहोरमैला व्यवस्थापन सम्बन्धी जनचेतनामूलक ¥याली सम्पन्न

रञ्जन यादब /बारा २२ जेठ

विश्व वातावरण दिवस २०८३ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी विशेष जनचेतनामूलक ¥याली तथा कार्यक्रम सम्पन्न गरेको छ। उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख राजन पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

“हाम्रो शहर, हाम्रो जिम्मेवारी, सफा शहर, सुन्दर शहर हाम्रो तयारी” भन्ने मूल नारासहित आयोजित ¥याली जीतपुर बजारका विभिन्न क्षेत्र परिक्रमा गर्दै उपमहानगरपालिका परिसरमा पुगेर कोणसभामा परिणत भएको उपमहानगरपालिकाको बाताबरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख बाताबरण ईन्जिनीयर पुष्पा सिँहले जानकारी दिईन्।कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले वातावरण संरक्षण, फोहोरको उचित व्यवस्थापन तथा सरसफाइ सम्बन्धी विभिन्न सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजन पौडेलले फोहोरमैला व्यवस्थापन उपमहानगरपालिकाको प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो। उहाँले सडक, सार्वजनिक स्थल तथा खोलानालामा जथाभावी फोहोर फाल्ने प्रवृत्तिका कारण नगरको सौन्दर्यमा असर पुगेको र उपमहानगरपालिका समेत आलोचित बन्न पुगेको उल्लेख गर्नुभयो। नगर प्रमुख पौडेलले अब फोहोर जथाभावी फाल्ने व्यक्ति तथा संस्थामाथि कानुनअनुसार कडाइका साथ कारबाही, दण्ड तथा जरिवानाको व्यवस्था लागू गरिने स्पष्ट पार्नुभयो।

“सफा शहर निर्माण नगरपालिकाको मात्र होइन, सम्पूर्ण नगरवासीको साझा दायित्व हो,” उहाँले भन्नुभयो।उहाँले उपमहानगरपालिकाका कर्मचारीहरूलाई कार्यालय समयबाहेक बजार अनुगमन वा अन्य कार्यका क्रममा पनि सरसफाइ र फोहोर व्यवस्थापनको अवस्थाबारे निगरानी गर्न निर्देशन दिनुभयो। फोहोर व्यवस्थापनमा लापरबाही गर्ने तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई सचेत गराउन र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन समेत आग्रह गर्नुभयो। उपमहानगरपालिकाले आगामी दिनमा पनि नियमित सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा फोहोर व्यवस्थापन सम्बन्धी अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ।