रञ्जन यादब/बारा २२ जेठ
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१, अमलेखगञ्जमा बसोबास गर्ने ६० वर्षसम्मका एकल महिला (विधवा महिला) हरूलाई सिलिङ्ग पंखा वितरण गरिएको छ। आर्थिक वर्ष २०८२÷०८३ को नगरस्तरीय बजेट अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत वडा क्षेत्रभित्रका लक्षित एकल महिलालाई पंखा वितरण गरिएको वडा अध्यक्ष सुबाश श्रेष्ठले जानकारी दिए । बढ्दो गर्मीका कारण दैनिक जीवनमा सहजता ल्याउने उद्देश्यले सामाजिक सुरक्षा तथा लक्षित वर्ग कार्यक्रम अन्तर्गत पंखा वितरण गरिएको बताए ।

कार्यक्रममा वडा जनप्रतिनिधिहरू, स्थानीय समाजसेवी तथा लाभग्राही महिलाहरूको सहभागिता रहेको थियो। पंखा प्राप्त गरेपछि लाभग्राही महिलाहरूले उपमहानगरपालिकाले आफ्नो आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन्।वडा कार्यालयका अनुसार नगरस्तरीय बजेटबाट सञ्चालन गरिएका यस्ता कार्यक्रमले लक्षित समुदायको जीवनस्तर सुधार गर्न तथा सामाजिक सुरक्षा सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै आगामी दिनमा पनि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य विपन्न वर्गलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।




