जीतपुरसिमरामा विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा मस्यौदामाथि छलफल सम्पन्न

रञ्जन यादब / बारा २१ जेठ

बारा जिल्लाको सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना तर्जुमाका लागि मस्यौदामाथि छलफल तथा पृष्ठपोषण कार्यशाला सम्पन्न भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उपमहानगरपालिकाको बन ,बाताबरण तथा बिपद ब्यवीथापन शाखाकी अधिकृत पुष्पा सिँहले जानकारी दिईन्

।नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ता रामकुमार दाहाल र यशप्रसाद सुब्बाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापना लगायतका विषयमा प्रस्तुति दिएका थिए। उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तहले दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याएको लुमन्तिका कार्यक्षेत्र संयोजक अब्दुल कैसले जानकारी दिए । उपमहानगरपालिका स्तरीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना तर्जुमाका लागि सहजकर्ता टोली उपमहानगरपालिकाको बिभिन्न वडामा गएर १० दिन अनुसन्धान गरी नक्सा तयार पारेको संयोजक कैसले बताए ।

कार्यक्रममा उपमहानगरपालिका क्षेत्रभित्र रहेका खोला तथा नदीजन्य जोखिम, वन्यजन्तुको आक्रमण, सामुदायिक कुकुरको समस्या, औद्योगिक प्रदूषण, आगलागी, हावाहुरी, बाढी–डुबान, चट्याङ, सर्पदंश तथा सडक दुर्घटनाजस्ता सम्भावित विपद्का जोखिमहरूको नक्साङ्कन प्रस्तुत गरिएको थियो। सहभागीहरूले आ–आफ्नो क्षेत्रका जोखिमहरू पहिचान गर्दै कार्ययोजनामा समावेश गर्नुपर्ने सुझाव दिएका थिए।छलफलका क्रममा विपद् पूर्वतयारीलाई वडास्तरसम्म प्रभावकारी बनाउने, आपत्कालीन उद्धार सामग्रीको व्यवस्थापन, सुरक्षित बस्ती विकास, जलवायु अनुकूल पूर्वाधार निर्माण, जनचेतना अभिवृद्धि तथा विपद् सूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले विपद् व्यवस्थापनलाई केवल उद्धारमा सीमित नराखी जोखिम न्यूनीकरण र पूर्वतयारीमा केन्द्रित हुनुपर्ने बताए। उनले स्थानीय समुदायको सहभागिता, सरोकारवाला निकायबीचको समन्वय तथा वैज्ञानिक आधारमा तयार गरिने कार्ययोजनाले उपमहानगरपालिकालाई विपद् प्रतिरोधी र जलवायु उत्थानशील नगरका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।कार्यशालाबाट प्राप्त सुझावहरूलाई समेटेर विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा र रणनीतिक कार्ययोजनाको अन्तिम मस्यौदा तयार गरिने आयोजकले जनाएको छ।