सम्पत्ति कर उठाउँनमा सहजीकरण गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई पत्रचार

रञ्जन यादव /बारा, ०८ जेठ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले सम्पत्ति कर सहजीकरणका लागि सबै वडा कार्यालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०८३ कार्यान्वयनमा ल्याइएको जानकारी गराइएको हो ।उपमहानगरपालिकाका अनुसार २०८३ वैशाख ११ गते बसेको कार्यपालिका बैठकले “सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०८३” स्वीकृत गरेको थियो । सोही कार्यविधिअनुसार अब करदाताले मालपोत कर (भूमि कर) बुझाउनुअघि निर्धारित निवेदन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।

पत्रमा उल्लेख भएअनुसार कार्यविधिको दफा ४ को उपदफा (१) बमोजिम अनुसूची–१ अनुसारको निवेदन फाराम भरी अनुसूची–२ अनुसारको अभिलेख कायम गरी आर्थिक ऐन, २०८२ को परिधिभित्र रही सम्पत्ति कर सहजीकरण गर्न वडा कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

यस व्यवस्थाले सम्पत्ति विवरणलाई व्यवस्थित बनाउने, कर प्रशासनलाई प्रभावकारी बनाउने तथा करदातालाई सहज सेवा प्रवाह गर्ने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ । साथै, सम्बन्धित कार्यविधि उपमहानगरपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिने जानकारी उपमहानगरपालिकाको राजस्व प्रशासन शाखा प्रमुख राम प्रसाद शर्मा पौडेलको हस्ताक्षरमा जारी पत्रमा उल्लेख गरिएको छ ।