रञ्जन यादव /बारा, २२ जेठ
बाराको सिम्रौनगढ नगरपालिका–३ श्रीनगर बैरिया स्थित नहर खण्डको बाटो हुँदै अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको भारतीय कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले शुक्रबार बिहान करिब ९ बजे भारतबाट नेपालतर्फ ल्याइँदै गरेको ४८ वटा जिउँदा कुखुरा बरामद गरेको हो ।
सीमावर्ती क्षेत्रको नहर बाटो प्रयोग गरी चोरी पैठारी गरिँदै गरेको सूचनाका आधारमा प्रहरीले कुखुरा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका कुखुरामा कुनै स्वास्थ्य परीक्षण तथा आवश्यक क्वारेन्टिन प्रक्रिया पूरा नभएको पाइएकाले पशुजन्य रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै तत्काल नष्ट गरिएको हो । सोही दिन इलाका प्रहरी कार्यालय परिसरभित्र खाल्डो खनी कुखुरालाई पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।कुखुरा नष्ट गर्ने क्रममा वडा नं. ७ का वडाध्यक्ष विवेक मेहता, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।
स्थानीय तहका प्रतिनिधिहरूले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरी प्रशासनसँग समन्वयलाई थप प्रभावकारी बनाइने बताएका छन् । यसैबीच, नेपाली कुखुरा फर्म सञ्चालकहरूले सिम्रौनगढ बजारमा भारतीय कुखुरा बिक्री भइरहेको जानकारी पाएपछि बजारका विभिन्न कुखुरा बिक्री केन्द्रमा पुगेर भारतबाट अवैध रूपमा ल्याइने कुखुरा बिक्री नगर्न चेतावनी दिएका छन् ।
उनीहरूले सस्तो मूल्यका भारतीय कुखुराले स्थानीय किसान मारमा परेको गुनासो गर्दै यस्तो कार्यले नेपाली पोल्ट्री व्यवसाय संकटमा पर्ने बताएका छन् । स्थानीय व्यवसायीहरूले खुला सीमाको फाइदा उठाउँदै दैनिक रूपमा विभिन्न खाद्य तथा पशुजन्य सामग्री अवैध रूपमा भित्रिने गरेको भन्दै सम्बन्धित निकायलाई सीमामा निगरानी बढाउन आग्रह गरेका छन् । प्रहरीले पनि सीमावर्ती क्षेत्रमा गस्ती तथा चेकजाँचलाई थप कडाइ गरिने जनाएको छ ।



