रञ्जन यादब /बारा ०७ जेठ
बारा लगायत मधेश प्रदेशमा नम्बर प्लेट नराख्ने तथा अस्पष्ट नम्बर प्लेट प्रयोग गरी सवारी साधन सञ्चालन गर्नेहरूविरुद्ध ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ । नेपाल प्रहरी अन्तर्गतको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले संयुक्त रूपमा विशेष अभियान सञ्चालन गरेका हुन् ।
सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी साधनको सहज पहिचान कायम गर्ने उद्देश्यले अभियानलाई तीव्र बनाइएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय नम्बर प्लेट नराखी तथा नम्बर स्पष्ट नदेखिने गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएपछि सुरक्षा चुनौती थपिएको भन्दै ट्राफिक प्रहरीले निगरानी बढाएको हो ।अभियानअन्तर्गत राजमार्ग तथा मुख्य बजार क्षेत्रमा विशेष सवारी चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा नम्बर प्लेट नभएका, मेटिएका, टालटुल पारिएका तथा धुलोमाटोले ढाकिएका नम्बर प्लेट भएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई रोकि आवश्यक कारबाही गर्नुका साथै तत्काल नम्बर प्लेट स्पष्ट बनाउन निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार अस्पष्ट नम्बर प्लेट भएका सवारी साधन दुर्घटना, चोरी तथा अन्य आपराधिक घटनामा संलग्न भएमा पहिचान गर्न कठिन हुने गर्दछ । यस्ता सवारी साधनले ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना गर्ने भएकाले अभियानलाई निरन्तरता दिइने बताइएको छ ।प्रहरीले सवारी चालक तथा धनीलाई नियमअनुसार अगाडि र पछाडि दुवै भागमा स्पष्ट रूपमा नम्बर प्लेट राख्न, तोकिएको मापदण्ड विपरीत नम्बर प्लेट प्रयोग नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणका लागि सबै नागरिकको सहयोग आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।




