अम्लेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल आपूर्ति सुरु भएपछि इन्धन आयातमा उल्लेखनीय वृद्धि

बाराको अम्लेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल आपूर्ति सुरु भएपछि इन्धन आयातमा उल्लेखनीय वृद्धि भएको छ । विशेषगरी पेट्रोल पाइपलाइनबाट नियमित रूपमा आउन थालेपछि चालु आर्थिक वर्षमा पेट्रोल आयात झन्डै दोब्बर पुगेको निगमले जनाएको छ ।

डिपोका अनुसार गत आर्थिक वर्षमा १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएको थियो भने चालु आर्थिक वर्षमा त्यो परिमाण बढेर ४ लाख किलोलिटर पुगेको छ । डिजेलको आयातमा भने सामान्य वृद्धि देखिएको छ । गत वर्ष ९ लाख किलोलिटर डिजेल आयात भएकामा यस वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर डिजेल भित्रिएको तथ्यांक छ ।

२०७६ सालदेखि डिजेल पाइपलाइनमार्फत ल्याउन थालिएको भए पनि पेट्रोल भने गत वर्षको फागुनदेखि मात्रै पाइपलाइन प्रणालीमा जोडिएको हो । यसअघि भारतको बरौनीबाट ट्याङ्करमार्फत पेट्रोल ल्याइने गरिन्थ्यो । अहिले भने भारतको मोतिहारी डिपोबाट पाइपलाइनमार्फत तेल पठाइन्छ, जुन अम्लेखगञ्ज आइपुग्न करिब चार दिन लाग्ने गर्दछ ।

डिपो प्रमुख अशोक साहका अनुसार पाइपलाइन सञ्चालनसँगै ढुवानी प्रणाली सहज र भरपर्दो बनेको छ । “पहिले स्थानीय बजारको आवश्यकताका लागि मात्रै पेट्रोल ल्याइन्थ्यो, अहिले देशका प्रमुख शहरहरूमा यहीँबाट इन्धन पठाइन्छ,” उनले बताए ।

हाल अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, विराटनगर, भैरहवा, जनकपुर र वीरगञ्जसहित २० जिल्लामा सरकारी तथा निजी पेट्रोल पम्पहरूलाई इन्धन आपूर्ति भइरहेको छ ।

पाइपलाइन सञ्चालनपछि निगमलाई आर्थिक तथा प्राविधिक रूपमा फाइदा पुगेको छ । ट्याङ्कर ढुवानीका क्रममा हुने चुहावट, चोरी, तस्करी, दुर्घटना र प्रदूषणमा उल्लेखनीय कमी आएको निगमको दाबी छ । निगमका अनुसार प्रतिलिटर करिब ३ रुपैयाँ ढुवानी खर्च बचत भइरहेको छ, जसका कारण वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम जोगिएको छ ।

अम्लेखगञ्ज डिपोमा हाल पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण क्षमता रहेको छ । यो मौज्दातले पेट्रोल ४–५ दिन र डिजेल ६–७ दिनसम्म बजार धान्न सक्ने निगमले जनाएको छ ।

यद्यपि पाइपलाइनबाट आयात बढे पनि पछिल्लो समय आन्तरिक बजारमा इन्धनको खपत भने घट्दो क्रममा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको असर नेपालमा पनि परेको हो । विशेषगरी अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर बनेपछि उपभोक्ताले इन्धनको प्रयोग घटाउन थालेका छन् ।

यसअघि दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेको अम्लेखगञ्ज डिपोमा अहिले डिजेलको बिक्री घटेर ३ हजार ५ सय किलोलिटर र पेट्रोलको बिक्री १ हजारदेखि १ हजार ५ सय किलोलिटरमा सीमित भएको छ ।

निर्माण क्षेत्र प्रभावित हुँदा मटीतेलको खपतसमेत घटेको निगमले जनाएको छ । यद्यपि हाल बजारमा इन्धनको कुनै अभाव नरहेको र पर्याप्त मौज्दात सुरक्षित रहेको डिपो प्रमुख साहले बताएका छन् ।