मानव–वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न लक्षित कार्यक्रम अन्तर्गत मेसजाली निर्माण कार्य शिलान्यास

रञ्जन यादब /बारा ०२ जेठ

बाराको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह को कार्यक्षेत्रमा मानव–वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न लक्षित कार्यक्रम अन्तर्गत मेसजाली निर्माण कार्यको शिलान्यास गरिएको छ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ बाट प्राप्त रु. १० लाख बजेटको सहयोगमा समूहले करिब ३५० मिटर लम्बाइको मेसजाली निर्माण गर्नलागिएको हो।

वन क्षेत्र नजिकका बस्तीमा जंगली जनावरको प्रवेश रोक्न तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले उक्त संरचना निर्माण गर्नलागिएको समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।विशेष गरी बाघ ,निलगाँई ,हात्ती, बँदेल, हरिणलगायत वन्यजन्तुले बाली नष्ट गर्ने, घरपालुवा पशुमा क्षति पु¥याउने तथा स्थानीयवासीमा त्रास सिर्जना गर्ने समस्या बढ्दै गएपछि मेसजाली निर्माणलाई प्राथमिकतामा राखिएको बताइएको छ। समूहका पदाधिकारीका अनुसार निर्माण हुने मेसजालीले वन्यजन्तुको आवतजावत नियन्त्रण गर्न सहयोग पुग्नेछ भने स्थानीय किसानको खेतीबाली संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। निर्माण कार्य उपभोक्ता समितिको प्रत्यक्ष निगरानी तथा स्थानीयवासीको सहभागितामा हुने जनाइएको छ।

स्थानीयवासीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गरिएको पहललाई प्रभावकारी कदमको रूपमा लिँदै आगामी दिनमा थप जोखिमयुक्त क्षेत्रमा समेत यस्ता संरचना विस्तार गर्नुपर्ने माग गरेका छन्। समूहले वन संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र सहअस्तित्व कायम राख्न आगामी दिनमा जनचेतनामूलक कार्यक्रम, वन्यजन्तु नियन्त्रण सम्बन्धी सचेतना तथा अन्य पूर्वाधार निर्माणका कामलाई समेत निरन्तरता दिने समुहले जनाएको छ।