रञ्जन यादव /बारा ०५ जेठ
जीतपुरसिमरा उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ४९ वटा संस्थागत विद्यालय (बोर्डिङ्ग स्कुल) को वर्गीकरण सम्पन्न गरेको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले गरेको अनुगमन तथा मूल्याङ्कनका आधारमा विद्यालयहरुको वर्ग निर्धारण गरिएको हो ।
उपमहानगरपालिकाले विद्यालयको भौतिक संरचना, कक्षाकोठाको अवस्था, खेलमैदान, शौचालय, खानेपानी, सुरक्षा मापदण्ड, प्रयोगशाला लगायतको भौतिक वातावरणलाई आधार मानेर वर्गीकरण गरिएको शिक्षा शाखा अधिकृत हरिष भट्टले जानकारी दिए । अनुगमन टोलीले विभिन्न चरणमा विद्यालय निरीक्षण गरी प्राप्त विवरणका आधारमा वर्ग निर्धारण गरेको बताइएको छ ।वर्गीकरणअनुसार वडा नम्बर ४ स्थित सेन्ट अल्फान्सस् स्कुल मात्रै ‘ख’ वर्गमा परेको छ भने बाँकी सबै ४८ वटा विद्यालय ‘ग’ वर्गमा परेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले न्यूनतम मापदण्ड पूरा गर्न नसकेका विद्यालयहरुलाई आवश्यक सुधार गर्न निर्देशन समेत दिएको अधिकृत भट्टले बताए ।उनले बिद्यालयको भौतिक संरचनाको अवस्था सुधार नगरे बर्गिकरण गरेको बर्ग भन्दा तल झार्न पनि सकिने र सुधार गर्नेलाई माथि बर्गमा पनि राख्न सकिने जानकारी दिए । यो उपमहानगरपालिकाको पहिलो अभ्यास भएकाले यसमा रहेको कमिकमजोरीलाई मध्यनजर गरी अघि बढ्ने बताए ।शिक्षा शाखाका अनुसार संस्थागत विद्यालयहरुको सेवा, सुविधा र पूर्वाधारलाई व्यवस्थित तथा गुणस्तरीय बनाउन र शिक्षा शुल्कमा एकरुपता ल्याउँन वर्गीकरण गरिएको हो ।
आगामी दिनमा विद्यालयहरुले भौतिक तथा शैक्षिक सुधार नगरे कारबाही प्रक्रिया समेत अघि बढाइने शिक्षा शाखा अधिकृत हरिष भट्टले जानकारी दिए ।उपमहानगरपालिकाले वर्गीकरणपछि विद्यालयहरुलाई आवश्यक सुझाव तथा सुधारका बुँदाहरु उपलब्ध गराउने तयारी गरेको छ । साथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नियमित अनुगमनलाई निरन्तरता दिइने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।



