रञ्जन यादब /बारा ०१ जेठ
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अन्तर्गत अमलेखगञ्ज नजिक ३ नम्बर पुल क्षेत्रको वन, निकुञ्ज तथा सडकको राइट अफ वे अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाइएको छ। डिभिजन वन कार्यालय बारा, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय र सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले जिल्ला सुरक्षा निकायको सहयोगमा शुक्रबार करिब ३ हेक्टर क्षेत्र अतिक्रमणमुक्त गराएको बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिए ।

संयुक्त टोलीले वर्षौंदेखि सञ्चालनमा रहेका ३५ वटा होटल तथा खाजाघरसँग सम्बन्धित ७० वटा घरटहरा, प्रयोगविहीन एक विद्यालय भवन र एउटा शौचालय हटाईएको उनले जानकारी दिए । बिहान ६ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने अभियान बेलुका ६ बजेसम्म लगातार १२ घण्टा सञ्चालन भएको थियो। कार्यालयका अनुसार उक्त क्षेत्रमा वन क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र तथा सडकको राइट अफ वे अतिक्रमण गरी संरचना निर्माण गरिएको थियो।

प्रारम्भिक सर्वेक्षणअनुसार त्यहाँ बसोबास तथा व्यवसाय गर्दै आएका सबै व्यक्तिहरूसँग अन्यत्र घरजग्गा रहेको पाइएको जनाइएको छ। वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा सडक ऐन २०३५ बमोजिम अतिक्रमित संरचना हटाइएको डिभिजन बन कार्यालय बाराले जनाइएको छ ।

हटाइएका होटल तथा टहराहरू बाढी, पहिरो, वन्यजन्तुको जोखिम तथा सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रमा रहेको सम्बन्धित निकायले जनाएको छ।अभियान सफल बनाउन प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, प्रदेश वन सचिव, वन निर्देशक, वन प्राविधिक तथा वन सुरक्षा कर्मीहरूको महत्वपूर्ण भूमिका रहेको डिभिजन वन कार्यालयले जनाएको छ। कुनै पनि अप्रिय घटना वा दुर्घटनाविना अभियान सफलतापूर्वक सम्पन्न भएको जनाईएको छ।



