वन अतिक्रमण हटाउन ३ दिने अल्टिमेटम, अटेरी गरे कानुनी कारबाही हुने चेतावनी

रञ्जन यादब /बारा

डिभिजन वन कार्यालय बाराले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–अमलेखगञ्ज–चुरियामाई मन्दिर क्षेत्रभित्र फैलिएको वन अतिक्रमण हटाउन कडा कदम चालेको छ। कार्यालयले उक्त क्षेत्रमा अनाधिकृत रूपमा निर्माण गरिएका घरटहरा तथा सञ्चालनमा रहेका व्यवसायहरू हटाउन ३ दिनको समयसीमा तोकेको छ।

वन ऐन २०७६ को दफा ४९ (ग) विपरीत वन क्षेत्र अतिक्रमण गरी बसोबास र व्यवसाय सञ्चालन भइरहेको भन्दै कार्यालयले यस्तो संरचना तत्काल हटाउन निर्देशन दिएको हो। निर्धारित समयभित्र अतिक्रमण नहटाएमा प्रचलित कानुनअनुसार बल प्रयोग गरेर हटाइने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्चसमेत अतिक्रमणकारीबाट असुल गरिने चेतावनी दिइएको छ। साथै, कानुनले तोकेअनुसार थप कारबाही पनि गरिने जनाइएको छ।
वन कार्यालयका अनुसार अतिक्रमित क्षेत्रको सिमाना पूर्वतर्फ वन क्षेत्र र दुधौरा खोला, पश्चिमतर्फ पर्सा राष्ट्रिय निकुञ्ज, उत्तरतर्फ चुरियामाई मन्दिर र दक्षिणतर्फ पथलैया चोकसम्म फैलिएको छ।

निमित्त डिभिजनल वन अधिकृतद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई तोकिएको समयभित्र स्वेच्छिक रूपमा अतिक्रमण हटाई सहयोग गर्न आग्रह गरिएको छ।