रञ्जन यादब /बारा ०१ बैशाख
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा बाराको सिमरा स्थित थानीमाई सामुलायिक बन उपभोक्ता समुहद्धारा सञ्चालित सिमरा पार्कमा दर्शकहरूको अत्यधिक भीड लागेको छ। नयाँ वर्षको पहिलो दिनमै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित उक्तपार्क अवलोकन गर्न आउनेहरूको संख्या ह्वात्तै बढेको हो।थानीमाई सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष श्याम सुबेदीका अनुसार हालसम्म करिब एक लाख दर्शकहरूले टिकट काटेर पार्कको अवलोकन गरिसकेका छन्। उनले टिकट काउन्टिङ प्रक्रिया जारी रहेकाले यकिन संख्या अझै स्पष्ट भइनसकेको जानकारी दिए।पार्क परिसरमा सवारी साधनको चाप पनि उल्लेखनीय देखिएको छ। सुबेदीका अनुसार पार्कमा करिब ७ सय मोटरसाइकल र ५६ वटा साना गाडी पार्किङ गरिएको छ, जसले दर्शकको उच्च उपस्थितिलाई पुष्टि गर्छ।

नयाँ वर्षको बिदा मनाउन उद्योग तथा कलकारखानामा कार्यरत कर्मचारी, मजदुर, तथा परिवारसहितका सर्वसाधारणहरू पिकनिक मनाउन र रमाइलो गर्न पार्कमा पुगेका थिए। बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। पार्कभित्र विभिन्न मनोरञ्जनात्मक गतिविधि, खुला स्थानमा पारिवारिक जमघट तथा फोटो खिच्ने क्रमले वातावरण उत्साहपूर्ण बनेको थियो।तर, टिकट दर सम्बन्धी विषयमा केही गुनासो समेत आएको छ। आधिकारिक रूपमा टिकट शुल्क १० रुपैयाँ तोकिएको भए पनि काउन्टरमा २० रुपैयाँसम्म असुल गरिएको पाइएको छ। यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएको छ भने सर्वसाधारणले पारदर्शिता कायम गर्न माग गरेका छन्।

स्थानीयवासी तथा आगन्तुकहरूले पार्कको व्यवस्थापन, सरसफाइ र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्। बढ्दो भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी परिचालन, पार्किङ व्यवस्थापन र सेवा सुविधामा सुधार आवश्यक देखिएको छ। यस बर्ष पार्क भित्र स साना खाने कुरा बेच्ने र बालबालिकाको मनोरञ्जनकोलागि खेलकुदको ब्यपार गर्नेहरुसँग केहि शुल्क लिएर भित्र सञ्चालन गर्ने ब्यवस्थापन गरिएको थियो । सिमरा पार्कमा रुखको सहयाताले बनाईको भ्यु मचान प्रमुख आकर्षणको केन्द्र बनेको थियो ।
युवायुवती तथा बृद्धबृद्धाहरु मचान माथि चढेर तलको दृश्य हेरेर आनन्द लिने गरेका थिए । सिमरा पार्कमा हात्ती ,गैँडा ,कन्गारु लगायतका जनावरहरुको प्रतिमा हेरेर बालबालिकाहरु रम्ने र फोटो खिचाउँने गरेका थिए भने पार्कमा राखिएका पिङ्ग र स्लाईड खेलेर आनन्द लिएका थिए । नयाँ वर्षको अवसरमा सिमरा पार्क क्षेत्रकै प्रमुख आकर्षणको केन्द्र बनेको छ, जसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पु¥याएको स्थानीयहरूले बताएका छन्।

