प्राविधिक शिक्षा र विदेश रोजगारी जोड्ने जनता मावि, ४० वर्षको यात्रामा नयाँ पहिचान

रञ्जन यादब /बारा

सामान्य सामुदायिक विद्यालयको छवि तोड्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा प्राविधिक शिक्षा र रोजगारीसँग प्रत्यक्ष जोडिने शिक्षालयका रूपमा अगाडि बढिरहेको छ। यही परिवर्तित यात्राको समीक्षा र उपलब्धिको सार्वजनिक घोषणा स्वरूप विद्यालयले बिहीबार ४० औँ स्थापना दिवस तथा ४१ औँ अभिभावक दिवस संयुक्त रूपमा मनाएको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा केवल औपचारिक उत्सव मात्र नभई विद्यालयको शैक्षिक प्रगति, प्राविधिक शिक्षाको अवस्था र विद्यार्थीको भविष्यसँग जोडिएका विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीलाई पुरस्कृत गरियो भने दीर्घकालदेखि विद्यालयको उन्नतिमा योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरियो।कार्यक्रम वडा नं. १४ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले जनता माध्यमिक विद्यालयलाई केवल परीक्षा पास गराउने संस्थामा सीमित नराखी सीप, श्रम र आत्मनिर्भरतालाई प्राथमिकता दिने शिक्षालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। “विद्यार्थी पढेर बेरोजगार हुने अवस्थाको अन्त्य गर्नुपर्छ,” उनले भने, “त्यसका लागि प्राविधिक शिक्षालाई रोजगारीसँग जोड्नु अपरिहार्य छ।

”विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले विद्यालयले सञ्चालन गरिरहेको कृषि प्राविधिक शिक्षा र ‘अर्न एन्ड लर्न’ कार्यक्रमलाई उदाहरणीय पहलका रूपमा प्रस्तुत गरे। उनले कृषि विषय अध्ययन गरेका चार जना विद्यार्थी हाल इजरायलमा रोजगारीमा संलग्न भइसकेको र कोरियामा पनि कृषि क्षेत्रमा काम गर्न पठाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। पछिल्लो एसईई परीक्षामा विद्यालयले ६० प्रतिशत उत्तीर्ण नतिजासहित जिल्लामै दोस्रो स्थान हासिल गर्नु विद्यालयको शैक्षिक सुधारको संकेत भएको उनले बताए।कार्यक्रममा सहभागी जीतपुरसिमरा–१५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले प्राविधिक शिक्षा विस्तारमा विद्यालयले गरेको प्रयास प्रशंसनीय भए पनि राज्यको स्पष्ट नीति र सहयोग नहुँदा विद्यार्थी आकर्षण घट्दै गएको धारणा राखे।

उनले स्थानीय तह र केन्द्र सरकारबीच समन्वय नहुँदा प्राविधिक शिक्षाको प्रभाव अपेक्षाअनुसार नदेखिएको बताए।प्रमुख अतिथि तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शिक्षा केवल प्रमाणपत्रका लागि होइन, जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिए। उनले विदेश पलायनले देश बौद्धिक रूपमा कमजोर बन्दै गएको उल्लेख गर्दै स्वदेशमै सीप र ज्ञानको प्रयोग गर्न सके मात्र समृद्धि सम्भव हुने बताए। “शिक्षा भागबन्डाको विषय होइन, जति उपयोग ग¥यो उति नै मूल्यवान् हुन्छ,” उनले भने।कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहको सञ्चालन सहायक प्रधानाध्यापक बरुन गौतमले गरेका थिए।