रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका–६, नगौल निवासी ५८ वर्षीय क्यान्सर पीडित लखराज माझीलाई जनहित मध्यवर्ती उपभोक्ता समिती सिमराले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित माझीलाई समितिले चेकमार्फत रु. १५,००० आर्थिक सहयोग हस्तान्तरण गरेको हो। अत्यधिक आर्थिक अभावका कारण अस्पतालले दिएको समयमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन जान नसकेको गुनासो माझीले गरेका छन्। आफ्नै थोरै जमापूँजी र गाउँका बुद्धिजीवी, सहयोगी मन भएका व्यक्तिहरूको पहलमा संकलित चन्दा प्रयोग गरी प्रारम्भिक उपचार गराए पनि हाल खाना समेत जुटाउन कठिन भइसकेको बताउँदै उहाँले थप उपचारका लागि सहयोगको अपिल गरेका थिए।
सहयोग हस्तान्तरणका क्रममा वडा नं. ६ का अध्यक्ष क्यामुदिन असारीले वडाबाट व्यक्तिगत तथा संस्थागत रूपमा गरेर रु. २५,००० सहयोग गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि वडाको तर्फबाट आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो। जनहित मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले समितिको उपभोक्ता क्षेत्रभित्रको व्यक्ति भएको र यस खालको सानो सहयोगले पनि समाजमा सकारात्मक सन्देश फैलिने आशयले संस्थागत निर्णयअनुसार चेकमार्फत सहयोग गरिएको स्पष्ट पार्नुभयो।समितिका सचिव पेशल मुल्मीले संस्थाको सहयोगले ठूलो रकम नभए पनि यसले अरु उपभोक्ता र संघसंस्थाहरूमा पीडित र जोखिममा परेकालाई सहयोग गर्ने संस्कार विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। “धेरैले थोरै थोरै सहयोग गरे ठूलो रकम जुट्न सक्ने सम्भावना हुन्छ,” उहाँले भन्नुभयो।यो सहयोग कार्यक्रमले स्थानीयस्तरमा असहाय तथा पीडित व्यक्तिहरूप्रति सहानुभूति र सहयोग भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।