जीतपुरसिमराको दलित बस्तीमा २५ वटा घरको शिलान्यास

रञ्जन यादब /बारा

आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.९ स्थित दलित बस्ती रामटोलमा २५ वटा घरको शिलान्यास गरेको छ । उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले घर निर्माणको शिलान्यस गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख राजन पौडेलले परम्परागत कुरालाई आधुनिकतासँग जोड्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । उनले पहिला पहिला बन्ने गरेका फुस ,माटो तथा टाँलीका घरहरुलाई आधुनिकतासँग जोडेर निर्माण गर्नुपर्नेमा जोड दिए । लुमन्तिले घर निर्माणमा प्रयोग गर्ने प्राय. सामग्रीहरु स्थानीय स्तरमै पाउँने र स्थानीय जनशक्तिकै प्रयोग गर्ने गरेका कारण यसका कार्यहरु अनुकरणीय रहेको बताए । लुमन्तिले घर निर्माणमा प्रयोग गर्ने जनशक्तिहरुको पारिश्रमिक बैकिङ्ग माध्यमबाट दिने गरेको र प्यान कार्ड होल्डर हुनुपर्ने नियम सराहनीय रहेको भन्दै प्रशंसा ब्यक्त गरे । उनले लुमन्तिका यस्ता कार्यको जीतपुरसिमरा उपमहानगरपालिका पनि आफनो कार्यहरुमा लागु गर्नतर्फ सोच बनाएको बताए ।लुमन्तिले निर्माण गर्ने घर ५० बर्षम्मि टिक्ने अनुमान गरिएको लुमन्तिका जीतपुरसिमरा उपमहानगरका कार्य क्षेत्र संयोजक अब्दुल कैसले जानकारी दिए ।

बर्षौ देखि टुटेको तथा भत्केको माटो र खरले बनाईएको घरमा जसोतसो आफनो गुजारा चलाउँदैँ आएका दलित परिवारकोलागि लुमन्तिले उपमहानगरपालिकासँग सहकार्य गरेर बाँसको घर निर्माण गर्न लागेको उनले बताए । प्रत्येक घर लुमन्ती संस्थाको रु.दुई लाख २० हजार र जीतपुरसिमरा उपमहानगरपालिकाको रु.एक लाखको लागतमा गरी कुल रु ३ लाख २० हजारको लागतमा निर्माण हुने लुमन्तिका समाजिक परिचालक रबि तिवारीले जानकारी दिए । लुमन्तिले उपमहानगरपालिकाको वडा नं.१९ मा २७ वटा घर निर्माण गरेको छ ।

त्यस्तै वडा नं.११ र २० मा पनि लुमन्तिले घर निर्माण गर्ने योजना रहेको जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा लुमन्तिले कुल १ सय ४० वटा घर निर्माण गर्ने योजना रहेको छ । लुमन्तीले देशका बिभिन्न ठाउमा स्थानीय तहसँग समन्वय गरी कम लागतमा भुकम्प प्रतिरोधात्मक ,बलियो र बाताबरण अनुकुल बाँसको घर निर्माण गर्ने गरेको छ ।

शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाई ,वडा नं.९ का वडा अध्यक्ष मोतीलाल राउत ,वडा नं.१०का पुर्ब वडा अध्यक्ष सरोज पटेल लगायतको सहभागिता रहेको थियो ।