रञ्जन यादब /पर्सा
पर्सागढी नगरपालिका वडा नं.३ बड्निहार स्थित बन क्षेत्रबाट अवैध काठ (चौपेटा)तस्करीको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्ति बड्निहार निवासी २७ वर्षीय धर्मेन्द्र दास थारु रहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।
बड्निहार सब डिभिजन बन कार्यालयबाट जमदार जित बहादुर तमाङ्गको नेतृत्वमा खटिएको टोलीले साइकलमा काठ लोड गरेर त्यसलाई घाँसले छोपेर लैजाँदै गरेको अवस्थामा धर्मेन्द्रलाई पक्राउ गरेको थियो ।
जमदार तमाङ्गका अनुसार धर्मेन्द्रले काठ तस्करीलाई लुकाउन विशेष तरिका अपनाएका थिए, तर गस्तीमा रहेको बन गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा काठसहित पक्राउ गरेको हो ।
पक्राउ परेका चौपेटा १.५ क्युफिटको रहेको छ ।हिजो सोमबार पनि सोही स्थानबाट अवैध काठ तस्करीमा संलग्न एक व्यक्ति पक्राउ परेका थिए। लगातार भइरहेको यस प्रकारको गतिविधिले स्थानीय क्षेत्रमा काठ तस्करीको समस्या गम्भीर रहेको संकेत गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने डिभिजनल बन अधिकृत अहमदले बताए ।