रञ्जन यादब /
पर्साको जीराभवानी गाउँपालिका वडा नं.४ स्थित बन क्षेत्रबाट सतीस सालको फेन्टा( काठको मुढा) बरामद भएको छ । दुई जना मानिसले पिठिउँमा बोकि दुई थान सतीस साल लिएर आईरहेको अवस्थामा बगराडोभ भलुवाहि खोला नजिकबाट फेन्टा नियन्त्रणमा लिएको रङ्गपुर सब डिभिजनका छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए ।
बरामद फेन्टा ४ क्युफिटको रहेको जनाईएको छ ।जमदार अर्जुन चौधरीको कमाण्डमा गएको बन गस्ती टोलीले पर्सा राष्ट्रिय निकुञ्जको बन क्षेत्रबाट दुई जना मानिसहरु काठ लिएर आईरहेको देखेको थियो । बन गस्ती टोलीलाई देखेर काठ तस्करी गर्ने मानिसहरु फेन्टा छाडेर भागेको अधिकृत यादबले बताए । बरामद फेन्टालाई रङ्गपुर सब डिभिजनको नियन्त्रणमा राखिएको छ ।
डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बरामद सतीस सालको फेन्टा पर्सा राष्ट्रिय निकुञ्जको बन क्षेत्रको भएको बताए । उनले डिभिजन बन कार्यालय पर्साको बन क्षेत्रमा सतीस सालको रुख नभएको जिकिर गरे । यस बिषयमा थप अनुसन्धान भईरहेको र फेन्ट छाडेर फरार भएकाहरुको खोजी कार्य भईरहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।