बारा, मंसिर २३ गते ।
मधेसमा युवाहरुलाई ‘कस्टमर केयर सर्भिस’ तालिम प्रदान गरिएको छ । होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित प्रदेशको बारामा ‘कस्टमर केयर सर्भिस’ तालिम निशुल्क प्रदान गरिएको हो ।
नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशले पाँच दिने तालिमको आयोजना गरेको थियो । तालिममा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत र उच्च शिक्षा अध्ययन गरिरहेका ३३ जना युवाहरु सहभागी थिए ।
नेपालमा युएनडिपी र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना संचालन भईरहेको छ । उक्त परियोजनामा होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । सोही परियोजना अन्तर्गत नाट्टा केन्द्रीय कार्यालयको सहयोगमा मधेस प्रदेश कमिटीले पाँच दिने तालिमको आयोजना गरेको हो ।
होटल तथा पर्यटन क्षेत्रका लागि तालिम अत्यन्त फलदायी हुने र तालिममा सहभागी प्रशिक्षार्थीले रोजगार प्राप्त गर्न सहज हुने नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउँनुभयो । दक्ष जनशक्ति उत्पादनसंगै होटल तथा पर्यटन क्षेत्रको सेवालाई थप सुलभ र व्यावसायिक बनाउन तालिमबाट मद्यत पुग्नेमा आशावादी रहेको शर्माले बताउँनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।कार्यक्रममा प्रशिक्षक बिनय शाक्य , हान नेपाल मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान , सञ्चारकर्मी विदुर खड्का ,प्रशिक्षार्थीहरु प्रीति भुजेल र आजाद हुसेन लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नाटा मधेशप्रदेशका वरिष्ठ उपाध्यक्ष बिनोद चौधरीले धन्यवाद मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।