करदातालाई कर सम्बन्धि शिक्षा दिनमा सकृय बन्दै आन्तरिक राजस्व कार्यालय सिमरा

बारा, असोज २३ गते ।

आन्तरिक राजस्व कार्यालय सिमराले करदाताहरुलाई कर सम्बन्धि शिक्षा दिने कार्यक्रमलाई सकृयताका साथ अघि बढाइरहेको छ । राजस्व कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न ठाँउहरुमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई सकृयताका साथ अघि बढाएको हो ।

विभिन्न स्थानिय संघ संस्था संग सहजिकरण गरेर आन्तरिक राजस्व कार्यालय सिमराले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई अघि बढाइरहेको छ । करको बारेमा जानकारी नै नभएको कारण धेरैले कर तिर्नबाट चुकिरहेको राजस्व कार्यालयको ठम्याइ छ ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सघ संग समन्वय गरेर आन्तरिक राजस्व कार्यालय सिमराले असोज १९ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा र असोज २२ गते वडा नम्बर ७ जीतपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्याक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रमलाई निरन्तर्ता दिदै आन्तरिक राजस्व कार्यालय सिमराले मंगलबार बाराको अम्लेखगञ्जमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर करदाताहरुलाई कर सम्बन्धि प्रशिक्षण दिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बारा संग समन्वय गरेर राजस्व कार्यालयले अम्लेखगञ्जमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । अब निजगढ सहित अन्य ठाँउहरुमा यही कार्यक्रमलाई निरन्तर्ता दिदै अघि बढ्ने राजस्व कार्यालय सिमराले जनाएको छ ।

होटल तथा पर्यटन व्यवसायी सघ बाराका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा राजस्व कार्यालयका कर अधिकृत बालकृष्ण कटेलले करदाताहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा पथलैया, अम्लेखगञ्ज र ३ नम्बर पुलका व्यवसायीहरुको सहभागितामा रहेको थियो ।

कार्यक्रममा व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजस्व सम्वन्धी जानकारी र आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने कागजात चुस्तदुरुस्त राख्ने सम्वन्धी शिक्षण दिइएको थियो ।

कार्यक्रममा प्रमखु अतिथि आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडा व्यवसायीहरुलाई करको दायरा र राजस्व समयमै तिर्दा हुने फाइदा र वेफाइदाहरु बारे जानकारी दिदै कार्यक्रममा व्यवसायीहरुले राखेको जिज्ञासा र प्रश्नहरुको जवाफ दिनु भएको थियो । व्यवसाय संचालन गर्दा अनिर्वाय रुपमा स्थायी लेखा नम्बर लिन पर्ने र व्यवसाय गर्दा इमानदारिता साथ राजस्व तिर्दा कुनै प्यापारी कहिलै जरिबाना तिर्न नपर्ने राजस्व कार्यालयका प्रमुख खतिवडाले ब्रिफिङ समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ र २२ का वडा अध्यक्षहरुले कर कार्यालय र उद्योगी व्यवसायीको सम्बन्ध सुमधुर हुनुपर्ने धारणा राख्नु भयो । उँहाहरुले कुनैपनी व्यवसाय संचालन गर्नुअघि कर कार्यालयमा दर्ता भईमात्र गनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने आर्थिक मन्दिका बिच व्यवसायमा नकारात्मक असर परेको अवस्थाले अनुगमनलाई जरिवानामा मात्रै केन्द्रित नगर्नहुन राजस्व कार्यालयलाई ध्यानाकर्षण गराउदै चार्डपर्वको बखत अनुगमन नर्गन जोड दिनु भएको थियो ।

यता कार्यक्रमका अध्यक्ष होटल तथा पर्यटन व्यवसायी बाराका अध्यक्ष अर्जुन लम्सालले करमा चुहावट गरेको र विना दर्ता व्यवसायी संचालन गरेर राजस्व कार्यालयको कार्वाहीमा पर्दा संघ पछि हट्ने बताउदै सबैलाई करको दायरामा आउन अनुरोध गर्नुभयो ।