सन्दीपको मुद्दामा ढिलासुस्ती, आज मुद्दाको पेशी

काठमाडौं, जेठ ७–

सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दियो । तर, उक्त आदेश आएको दुई महिना पुग्न लाग्दा पनि मुद्दा जहीँको त्यहीँ छ । सर्वोच्चको आदेशयता जिल्ला अदालतमा चार पटक पेशी तोकिए पनि मुद्दा अगाडि बढ्न नसकेको हो ।

तीन पटकको पेशी बिना सुनवाई स्थगित भयो भने एउटा पेशीमा बहस भएर पनि न्यायाधीशले त्यसलाई ‘हेर्दाहेर्दै’ मा नराखी रद्द गरिदिए । आज आइतबारलाई अर्को पेशी तोकिएको छ । तर, आज पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू ढुक्क छैनन् । मुद्दा लम्ब्याउन भित्रभित्रै चलखेल हुन थालेको उनीहरूको आशंका छ ।

फैसलाको चरणमा रहेको मुद्दाको पछिल्लो पेशीमा ‘पीडित’ गौशाला २६ का तर्फबाट अन्तरिम क्षतिपूर्तिको लागि निवेदन पेश भएको थियो । जबकि जिल्ला अदालतले गत चैत १० गते नै मुद्दा फैसलाको नजिक पुगेकाले अन्तरिम क्षतिपूर्तिको विषय अहिले सम्बोधन गर्नु नपर्ने निर्णय सुनाइसकेको थियो । तर, दोस्रो पटक पनि गौशाला २६ का तर्फबाट अर्को निवेदन दिएर क्षतिपूर्ति माग गरिएको छ ।

अघिल्लो पटक अस्वीकार भइसकेको निवेदनमा अदालतले अहिले भने विल भरपाई पेश गर्न आदेश दिएको छ । सम्भवतः आजको सुनवाइ पनि यही विल भरपाई अध्ययन गर्नुपर्ने बहानामा सारिन सक्ने सन्दीपका एक कानून व्यवसायीले बताए ।