बारा, चैत २२ गते ।
डिभिजन वन कार्यालय बाराले सामुदायिक वनबाट करिब एक सय क्युफिट काठ सहित पिकअप गाडि नियन्त्रणमा लिएको छ । वन कार्यालयबाट खटिएको गस्ती टोलीले बुधबार बिहान करिब ३ः३० बजेको समयमा ५ थान साल जातको गोलिया बरामद गरेको हो ।
गस्ती टोलीले निजगढ नगरपालिका वडा नं. १ धन्सार छेउबाट सिँगोल जाने बाटोबाट काठ बरामद गरिएको डिभिजन वन कार्यालय बाराका अधिकृत बिनोद सिँहले बताउनु भयो । तस्कारहरुले वन गस्ती टोलीलाई देखेर पिकअप र काठ छोडेर फरार भएको अधिकृत सिंहले जानकारी दिनुभयो । वन गस्ती टोलीले घेरा हालेर काठ तस्करहरुलाई नियन्त्रण गर्न खोज्दा तस्करहरु अध्यारो र जङ्गलको फाईदा उठाउँदै भाग्न सफल भएको उहाँले बताउनुभयो ।
काठ सहित बरामद भएको पिकअप गाडिको अगाडि नम्बर प्लेट तोडेर फालेको र पछाडिको नम्बर प्लेट कोरेर मेट्ने प्रयास गरिएको छ । डिभिजन वन कार्यालयले बरामद पिकअपको नम्बर थाह भएको जनाएको छ । पिकअपको नम्बर बा ५ च ५६९६ रहेको र त्यसको धनी पत्ता लगाउने कार्य भईरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जवाहर प्रसाद कुर्मीले जानकारी दिनुभयो ।
बरामद काठको मुल्य करिब १० लाख रुपैया रहेको बताईएको छ । तस्करहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।