रञ्जन यादब /बारा २१ जेठ
जीतपुरसिमरा उपमहानगरपालिकाले विभिन्न विकास निर्माणका काममा चरम ढिलासुस्ती गर्ने तथा योजना अलपत्र पार्ने २३ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। उपमहानगरपालिकाका योजना शाखा प्रमुख सुधन चौधरीले तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्ने, गुणस्तरहीन निर्माण गर्ने तथा पटक–पटकको मौखिक र लिखित निर्देशनलाई समेत बेवास्ता गर्ने निर्माण कम्पनीहरूविरुद्ध ठेक्का सम्झौता अन्त्य गर्ने तयारी गरिएको जानकारी दिए।
उपमहानगरपालिकाका अनुसार आर्थिक वर्ष २०७७÷०७८, २०७८÷०७९, २०८०÷०८१ र २०८१÷०८२ मा सम्झौता भएका सडक, भवन, नाला तथा अन्य पूर्वाधार निर्माणका विभिन्न योजनाहरू लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन्। केही निर्माण कम्पनीले अग्रिम भुक्तानी लिएर पनि काम सुरु नगरेको, कतिपयले निर्माण कार्य अधुरै छाडेको तथा पटक–पटक ताकेता गर्दा पनि सन्तोषजनक प्रगति नदेखाएको पाइएको छ।साथै ठेक्का किन नतोड्ने भन्ने विषयमा प्रमाणसहितको स्पष्टिकरण पेश गर्न बैशाख २२ गते १५ दिने सुचना प्रकाशन गरि जानकारी दिएको थियो । यसैबीच उपमहानगरपालिकाले सम्बन्धित निर्माण कम्पनीहरूलाई अन्तिम अवसरस्वरूप १५ दिनभित्र संशोधित कार्यतालिका, स्रोत–साधन परिचालन योजना र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धतासहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेपनि ठेकदार कम्पणीले अटेरी गरी कामलाई गति नदिएका कारण उपमहानगरपालिकाले कार्बाही प्रक्रिया अघि बढाउँन लागेको हो ।
उपमहानगरपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गर्ने, निर्माण कम्पनीलाई कालोसूचीमा सिफारिस गर्ने, कार्यसम्पादन जमानत र धरौटी जफत गर्ने तथा बाँकी काम सम्पन्न गर्न लाग्ने अतिरिक्त खर्च सम्बन्धित कम्पनीबाट सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ। कारबाहीको दायरामा परेका कम्पनीहरूमा सम्राट निर्माण सेवा, प्रतिक्षा निर्माण सेवा, बब्लु कन्स्ट्रक्सन, एच.पी. निर्माण सेवा, शिव निर्माण सेवा, ॐ बृहस्पति निर्माण सेवा, एस एण्ड बि कन्स्ट्रक्सन, श्रीराम कन्स्ट्रक्सन, शिवा निर्माण सेवा, एन.के. कन्स्ट्रक्सन, धिरज निर्माण सेवा, संकट मोचन निर्माण सेवा, समिर कन्स्ट्रक्सन, एन.टी. बारा कन्स्ट्रक्सन, एन.एन. कन्स्ट्रक्सन, डि.एण्ड डि. कन्स्ट्रक्सन, प्रतिभा निर्माण सेवा, झुनझुन कन्स्ट्रक्सन, रञ्जीत कन्स्ट्रक्सन एण्ड सप्लायर्स लगायत रहेका छन्।
उपमहानगरपालिकाले ठेक्का सम्झौता अन्त्य भएपछि बाँकी निर्माण कार्य नयाँ खरिद प्रक्रिया मार्फत शीघ्र अगाडि बढाइने जनाएको छ। लामो समयदेखि अलपत्र परेका योजनालाई पूर्णता दिन तथा विकास निर्माणलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले कडा कदम चालेको जनाएको छ। उपमहानगरपालिकाको यो निर्णयलाई विकास निर्माणमा लापरवाही गर्ने निर्माण व्यवसायीमाथि कडा सन्देशका रूपमा हेरिएको छ। यसबाट आगामी दिनमा निर्माण व्यवसायीहरूलाई समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न थप दबाब सिर्जना हुने अपेक्षा गरिएको छ।




