रञ्जन यादब/बारा, ६ जेठ
सब डिभिजन वन कार्यालय तामागढी, बाराको गस्ती टोलीले निजगढ नगरपालिकास्थित वन क्षेत्रभित्र पर्ने बकैया खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी तथा बालुवा संकलन गर्दै गरेका दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झा का अनुसार सब डिभिजन वन कार्यालय तामागढीका अधिकृत राजकिशोर प्रसाद उपाध्याय को नेतृत्वमा खटिएको गस्ती टोलीले आज बिहान करिब ५ः४५ बजे उक्त ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो ।

वन क्षेत्रबाट बग्ने बकैया खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको सूचनाका आधारमा गरिएको गस्तीका क्रममा नेपाल प्रहरीको सहयोगमा दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
डिभिजन वन कार्यालय बाराले वन क्षेत्र तथा नदी प्रणालीको संरक्षणका लागि वातावरणीय अध्ययन तथा स्थानीय तहसँग भएको सम्झौता बमोजिम मात्रै नदीजन्य पदार्थ संकलन गर्न सबैसँग आग्रह गरेको छ ।



