जीतपुरसिमरामा सार्वजनिक जग्गाका सटर खाली, व्यवसायी आफैंले हटाए पसल

रञ्जन यादब /बारा १८ बैशाख

जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका सात वटा सटर शुक्रबार व्यवसायीहरूले खाली गरेका छन्। उपमहानगरपालिकाको पटक–पटकको सूचना र अदालतको आदेशपछि व्यवसायीहरू सटर छाड्न बाध्य भएका हुन्।
मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने बाटोको उत्तर भाग तथा रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका ती सटरहरूमा लामो समयदेखि मेडिकल, रेडिमेड कपडा तथा सैलुन व्यवसाय सञ्चालन हुँदै आएको थियो। साविक पिपरा सिमरा गाविस वडा नं. २ अन्तर्गत कित्ता नं. ८३२ मा रहेको सार्वजनिक जग्गामा ती संरचना बनाइएका थिए।

उपमहानगरपालिकाले बैशाख १६ गते सूचना जारी गर्दै तीन दिनभित्र सटर खाली गर्न निर्देशन दिएको थियो। बैशाख १८ गतेसम्म पनि सटर खाली नगरे सामान जफत गरिने चेतावनीसहित अर्को सूचना सार्वजनिक भएपछि व्यवसायीहरूले स्वयं सटर खाली गर्न थालेका थिए।
सटर खाली गराउने क्रममा प्रशासकीय अधिकृत रमेश सुवेदीको नेतृत्वमा नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली स्थलमा पुगेको थियो। व्यवसायीहरूले आफैं सामान हटाउन थालेपछि सुरक्षाकर्मीले आवश्यक समय दिँदै सहजीकरण गरेका थिए।

यसअघि उपमहानगरपालिकाले चैत २६ गते पनि सटर खाली गर्न सूचना जारी गरेको थियो। तर व्यवसायी बिमला अधिकारीले बैशाख ३ गते उच्च अदालत वीरगञ्जमा रिट दायर गरेपछि प्रक्रिया रोकिएको थियो। बैशाख ४ गते न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उपमहानगरपालिका तत्कालका लागि पछि हटेको थियो।
पछि बैशाख ११ गते न्यायाधीश जगतबहादुर थापा र निर्मला शाक्यको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सटर खाली गराउने बाटो खुलेको थियो। अदालतले जेठ ४ गतेका लागि अर्को पेशी तोकेको छ।