रञ्जन यादब /बारा ११ बैशाख
पथलैयास्थित नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन हुने मालवाहक सवारीसाधनमाथि निगरानी र कारवाहीलाई थप कडाई गरेको छ। भारबहन नियमन सम्बन्धी निर्देशिका २०७४ ले निर्धारण गरेको सीमा भन्दा बढी भार बोकेका सवारीलाई लक्षित गर्दै कार्यालयले विशेष निगरानी थालेको हो।कार्यालयका अनुसार बुधबार र बिहीबार मात्र ६ वटा ओभरलोड मालवाहक गाडीलाई कारवाही गरिएको छ। ती सवारीसाधनबाट एक लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए।उनका अनुसार यसअघि यस्ता सवारीलाई कार्यालयबाटै न्यूनतम जरिवाना गरी पठाउने गरिएको भए पनि अहिले सबै ओभरलोड सवारीलाई सिधै वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय पठाउने व्यवस्था गरिएको छ।
त्यहाँ तोकिएको मापदण्डअनुसार जरिवाना असुल भइरहेको उनले बताए।प्रवक्ता सिंहले मधेश प्रदेश अन्तर्गतका मातहत कार्यालयहरूलाई पनि क्षमता भन्दा बढी सामान ढुवानी गर्ने सवारीसाधनलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। उनले चालकहरूलाई निर्देशिका २०७४ अनुसार सामान ढुवानी गर्न सचेत गराउन तथा अटेर गर्ने सवारीलाई कारवाहीका लागि सिफारिस गर्न आग्रह गरेका छन्।चालु आर्थिक वर्षको साउन १ गतेदेखि वैशाख १० गतेसम्म २ सय ६५ वटा ओभरलोड सवारीसाधनलाई यातायात कार्यालयमा कारवाहीका लागि सिफारिस गरिएको छ। यसबाट ४० लाख ५९ हजार ९ सय ६१ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ।त्यसैगरी चालु आर्थिक वर्षको चैत मसान्तसम्म ८० हजार ८२ वटा सवारीसाधनमाथि गरिएको कारवाहीबाट कुल ७ करोड ९२ लाख ५५ हजार ५८ रुपैयाँ राजश्व उठाइएको छ।मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३ हजार २ सय ४५ चालकलाई पनि कारवाही गरिएको छ।
यसबाट १६ लाख ७६ हजार रुपैयाँ जरिवाना संकलन भएको प्रवक्ता सिंहले बताए।कार्यालय तथा मातहतका जिल्लाहरूले चैत मसान्तसम्म १६ हजार ४ सय ३९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। ती कार्यक्रमबाट ७ लाख ६२ हजार ५ सय ४४ जना लाभान्वित भएको जनाइएको छ।चालु आर्थिक वर्षमा मधेश प्रदेशभर ६ हजार ८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३ सय ९८ जनाको मृत्यु भएको छ भने ९ हजार ७ सय ३८ जना घाइते भएका छन्।मदिरा सेवन गरेर सवारी चलाउने तथा तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिका कारण दुर्घटना बढिरहेको भन्दै प्रवक्ता सिंहले तीव्र गति नियन्त्रण र मापसे जाँचलाई अझ कडाईका साथ लागू गर्न निर्देशन दिएका छन्।यसैबीच पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेका १५ जना चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जमा सिफारिस गरिएको कार्यालयले जनाएको छ।

