रञ्जन यादब /बारा
बन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आयोजनामा बन तथा बन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशभित्र रहेको बन तथा बन्यजन्तुको संरक्षण र उचित व्यवस्थापनमा सरोकारवालाहरूबीच साझा बुझाइ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बन तथा बन्यजन्तुको महत्व, सम्बन्ध, संरक्षण र व्यवस्थापनका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो।
विशेषगरी बन्यजन्तुको बासस्थान संरक्षण र त्यसको प्रभावकारी व्यवस्थापन, बन तथा बन्यजन्तु संरक्षणसम्बन्धी विद्यमान ऐन, नियम, कानुन र प्रावधानहरूप्रति सहभागीहरूलाई जानकारी गराइएको थियो।यस्तै, पछिल्लो समय तीव्र रूपमा देखापरेका मानव–बन्यजन्तु द्वन्द्वका कारणहरू र त्यसका समाधानका उपायहरूबारे समेत गम्भीर छलफल गरिएको थियो। सहभागीहरूले संरक्षण प्रयासमा स्थानीय तह, समुदाय, सरकारी निकाय तथा सरोकारवाला संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता बन तथा वातावरण मन्त्रालयकी प्रशासन तथा योजना शाखा प्रमुख अञ्जना कायस्थले गर्नु भएको थियो।
उहाँले बन तथा बन्यजन्तुको दिगो व्यवस्थापनका लागि नीति, कानुन मात्र पर्याप्त नभई व्यवहारमा लागु हुने संयन्त्र मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।कार्यक्रमका संयोजक भु–संरक्षण अधिकृत नवोनारायण मिश्रले कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै सहभागीहरूबीच छलफल सञ्चालन गर्नुभएको थियो।कार्यक्रमबाट बन तथा बन्यजन्तु संरक्षण र व्यवस्थापनमा सकारात्मक सन्देश र साझा प्रतिवद्धता व्यक्त भएको आयोजकको भनाइ छ। साथै, यस्ता कार्यक्रमले संरक्षण क्षेत्रमा सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बन ब्यवस्थापनको साथसाथै बन्यजन्तुको संरक्षणमा जोड दिएका थिए । बन्यजन्तुको संरक्षणमा समुह , प्रदेश ,संघ र अन्तराष्ट्रिय जगत सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मानिस र बन्यजन्तु बीच द्धन्द हुँदा कहिले मानिस ज्यान गुमाउँनु परेको त कहिले बनजन्तुले ज्यान गुमाउँनु परिरहेका बताए ।उहाँले डिभिजन बन कार्यालहरुलाई बन संरक्षणको साथसाथै बन्यजन्तुको संरक्षणमा पनि ठोस कदम चाल्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा डिभिजन बन कार्यालयका बन अधिकृत संजय चौधरी र जेड.एस.एल.का प्रचण्ड महर्जनले बन तथा बन्य जन्तु संरक्षण सम्बन्धी प्रस्तुती प्रस्तुत गरेका थिए ।