पर्सागढीको अमबगैचामा ५ हेक्टर अतिक्रमित बन क्षेत्र फिर्ता

रञ्जन यादब /पर्सा

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ स्थित आमबगैचा क्षेत्रको करिब ५ हेक्टर साझेदारी बन क्षेत्रमा गरिएको अतिक्रमण हटाइएको छ। हालै मकै र तरकारी खेती गरेर गरिएको अतिक्रमण शुक्रबार डिभिजन बन कार्यालयको टोलीले हटाएको हो ।बड्निहार सब डिभिजन बन कार्यालयका अधिकृत नवनित मिश्रको नेतृत्वमा गएको टोलीले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो। उनका अनुसार अतिक्रमण नयाँ र हालसालै गरिएको पाइएको हो। सूचना प्राप्त भएको केही समयमै टोली खटिएको उनले बताए।

सबैया साझेदारी बन क्षेत्रमा रहेको उक्त अतिक्रमण हटाउँने कार्यमा बड्निहार सब डिभिजनको टोलीसँगै सबैया सब डिभिजन बन कार्यालयका रेञ्जर भूपाल रोकाय र रङ्गपुर सब डिभिजन बन कार्यालयका अधिकृत उज्ज्वल यादव नेतृत्वको टोलीको समेत सहभागिता रहेको थियो।

करिब दुई घण्टासम्म चलेको संयुक्त प्रयासपछि बन क्षेत्रमा गरिएको अवैध खेती हटाइएको हो।डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जिल्ला भरिका बन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान तीव्र रूपमा अघि बढाइएको जानकारी दिए। उनले बन क्षेत्रको संरक्षण र दीर्घकालीन दिगोपनाका लागि यस्ता अभियानलाई निरन्तरता दिइने बताए।