प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

रञ्जन यादब /बारा

बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिम्रौनगढका स्थानीय सनफी यादव रहेका छन् ।यादव सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवारका सहयोगी रहेको बताइएको छ ।

प्रहरीले उनलाई केहीदिन अघि काठमाडौंको सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो । यादवलाई बारा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।आफूमाथि हातपात भएको भन्दै सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालले नगर प्रमुख कलवार, नगरसभा सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जयसवालको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।शिर्षक नभएको योजनाको भुक्तानी दिन नमानेको भन्दै नगर प्रमुख कलवारसहितका सहयोगीले आफुलाई घरमै बोलाएर कुटपिट गरेको जैसवालको आरोप छ ।