रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ कार्यालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना हुनुपर्ने निर्णय गरेको छ ।
बैशाख ८ गते बसेको वडा समितिको बैठकको निर्णयअनुसार उक्त सूचना जारी गरिएको हो। वडा अध्यक्ष राम प्रसाद लामिछानेद्धारा जारी सूचनामा भनिएको छ कि अबदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई निजी वा अन्य विद्यालयमा नभई आफू कार्यरत रहेका सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्नेछ ।
वडा कार्यालयको यस्तो निर्णयबाट सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह हुने विश्वास व्यक्त गरिएको छ। सूचनामा उल्लेख छ कि सो निर्णय कार्यान्वयन नगर्ने शिक्षक तथा कर्मचारीहरूले पालिकाबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनेछन्।