सिमरामा सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न

रञ्जन यादब /बारा

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साना किसान लघु वित्तीय संस्था लिमिटेड, हेटौंडा र साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिमराको साझेदारीमा एकदिने सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण तालिम भव्य रूपमा सम्पन्न भएको छ ।

जीतपुर–सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत उर्मिला काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक(डिएसपी) सुभद्रा वाइवा विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कमला अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष पुनम देवी महतोले दिनुभएको थियो।

कार्यक्रमको सहजीकरण सचिव मीरा पुरीले गर्नुभएको थियो । तालिमका प्रमुख प्रशिक्षक नेपाल कृषि सहकारी केन्द्रीय संघका प्रबन्धक प्रकाश पाण्डेले सहकारी शिक्षा तथा समूह सुदृढीकरणसम्बन्धी विविध विषयमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा सहकारी सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तालिमले सहकारी सदस्यहरूलाई सहकारी सञ्चालन, अन्तर समूह समन्वय, वित्तीय सुदृढीकरण तथा नारी सशक्तीकरणका विविध पक्षहरूमा ज्ञान प्रदान गरेको थियो। नारी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले सहकारी अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।