६ थान काठ अबैध रुपमा ओसारपसार गर्ने ३ जना अटो सहित पक्राउ

रञ्जन यादब /बारा

बारा जिल्लाको कोल्हवी नगरपालिकामा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवन, बाराबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार सोमबार कोल्हवी नपा–०८, मिलनचोकबाट म.प्र.०३–००१ ह २५७९ नम्बरको अटो गाडीमा साल जातको गोलिया काठ ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले चेक जाँच सुरु गरेको थियो । प्रहरीले उक्त गाडीलाई नेपाल आयल स्टोर पूर्वबाट उक्त अवैध साल जातको काठ सहित बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा बारा करैयामाई गाउँपालिका–२ निवासी बर्ष ५१ का गोबिन्द प्रसाद चौधरी, करैयामाई गाउँपालिका–४ निवासी बर्ष ४० का ग्यासुदीन अन्सारी र बर्ष ३१ का नैईम अक्तर देवान रहेको मधुबन सब डिभिजन बन कार्यालयका अधिकृत संजय चौधरीले जानकारी दिए । अटो गाडीमा ६ थान गोलिया साल काठ ७.३६ क्युफिटको लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको अधिकृत चौधरीले बताए ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाईएको डिभिजनल बन अधिकृत झाले जानकारी दिए ।