कृषिलाई प्राथमिकता दिदै माडी नगरपालिकाले ल्यायो ९६ करोड ६९ लाख बजेट

माडी, असार ११ गते ।

माडी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिकी हुन् ।

‘व्यवसायीक कृषि, आत्मनिर्भर माडी’ भन्ने नारासहित माडी नगरपालिकाले सिँचाई अन्तरगत साना, मझौला र ठूला बोरिङ निर्माण, कुलो लाइनिङ तथा भूमिगत पाइप लाइनिङको निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ । नगरले विदेशबाट फर्किएका र बेरोजगार युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न युवा लक्षित स्वरोजगार कृषि कार्यक्रमहरु संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नगरपालिकाले पशु र मत्स्यजन्य उत्पादन, पर्यटन, युवा लक्षित कार्यक्रम, खानेपानीलाई प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरेको छ ।

यस्तै ११औं नगरसभामा नगर उपप्रमुख खेल खेमप्रसाद मतोले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ९६ करोड ६९ लाख २ हजार ४२७ रुपैयाँ विनियोजन गरेको जानकारी दिए । यो चालू आर्थिक वर्ष भन्दा ४३ करोड कम बजेट हो ।

संघीय सरकारबाट अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ५८ करोड ९० लाख ९ हजार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरणबाट १६ करोड २९ लाख ७३ हजार र नगरको आन्तरिक आम्दानी १५ करोड ९ लाख २० हजार रुपैयाँ प्रक्षेपण गरिएको उपप्रमुख महतोले जानकारी दिए ।

वडा तह अनुसारको बजेट यसप्रकारको छः
वडा नं. १ का लागि १ करोड १० लाख
वडा नं. २ का लागि १ करोड
वडा नं. ३ का लागि १ करोड
वडा नं. ४ का लागि ९० लाख
वडा नं. ५ का लागि ९० लाख
वडा नं. ६ का लागि १ करोड
वडा नं. ७ का लागि १ करोड
वडा नं. ८ का लागि ९० लाख
वडा नं. ९ का लागि १ करोड ४५ लाख