सूर्य नेपालको २१ लाख ९५ हजारको सहयोगमा सिमरा कलेजको पूर्वाधार विकास

रञ्जन यादब /बारा २० कार्तिक

सूर्य नेपाल प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिमरा कलेजको भौतिक पूर्वाधार विकासमा २१ लाख ९५ हजार रुपैयाँ खर्च गरी विभिन्न निर्माण तथा स्तरोन्नतिका कार्य सम्पन्न गरेको छ। कम्पनीले कलेज परिसरको स्तरोन्नति, फिल्ड व्यवस्थापन तथा आन्तरिक बाटो निर्माणलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको सिमरा कलेज सिमराले जनाएको छ । उक्त सहयोगले कलेजको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र आकर्षक बनाउन महत्वपूर्ण योगदान पुगेको कलेज प्रमुख शम्भु खरेलले बताए ।

एक कार्यक्रमकाबिच निर्माण कार्य सुर्य नेपालका प्रबन्धक सुरेशकाजी श्रेष्ठले कलेज ब्यवस्थापन समितीका अध्यक्ष गिता शर्मालाई हस्तान्तरण गरेका थिए ।सूर्य नेपाल प्रा.लि.को सहयोगबाट निर्माण सम्पन्न भएका संरचनाले विद्यार्थी तथा शिक्षकलाई सहज शैक्षिक वातावरण उपलब्ध गराउनुका साथै कलेजको समग्र व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

कलेज परिवारले शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग र सहकार्य गर्दै आएको सूर्य नेपाल प्रा.लि.प्रति हार्दिक आभार व्यक्त गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रबाट शैक्षिक संस्थाको पूर्वाधार विकासमा गरिएको यस्तो सहयोगले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक भूमिका खेल्ने कलेजको विश्वास छ।कलेजले आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव र सहकार्यको अपेक्षा गर्दै सूर्य नेपाल प्रा.लि.को उत्तरोत्तर प्रगति, समृद्धि र सफलताको कामना गरेको छ।

कलेज ब्यवस्थापन समितीका अध्यक्ष गिता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सुर्य नेपालका यज्ञ बहादुर आले ,शेषराज अधिकारी लगायतको सहभागिता रहेको थियो ।