रञ्जन यादब /बारा १५ कार्तिक
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीले शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै पाँच जनालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।विजयादशमी, शुभदीपावली, छठ तथा नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । सम्मानित प्रत्येक विद्यार्थीलाई पाँच हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको नगर कमिटीले जनाएको छ ।

कक्षा १२ तर्फ संस्थागत विद्यालयबाट शुभारम्भ एकेडेमी सिमराका श्रवणकुमार मिश्र तथा सामुदायिक विद्यालयतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगन्जकी रनिता रुम्बा र जनता माध्यमिक विद्यालय रजघट्टाका पंकजकुमार यादव सम्मानित भएका छन् ।यसैगरी, एसईईतर्फ संस्थागत विद्यालयबाट ब्राइटर एकेडेमीका अंकित साह र सामुदायिक विद्यालयबाट जनता माध्यमिक विद्यालय रजघट्टाका मनिष पनेरुले सम्मान प्राप्त गरेका छन् ।शैक्षिक प्रतिभालाई सम्मान गरेको एमालेले खेलकुद क्षेत्रबाट उपमहानगरको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पु¥याएकी कबड्डी खेलाडी गङ्गा चौलागाईंलाई पनि १० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ । जापानमा सम्पन्न एसियन गेम्समा सहभागिता जनाइसकेकी चौलागाईं कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि उनलाई अर्को कार्यक्रममा सम्मान गरिने नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज अच्युत मैनालीले पार्टी सञ्चालनमा लोकतान्त्रिक पद्धति र आन्तरिक प्रतिस्पर्धालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीको टिकट वितरणदेखि नेतृत्व चयनसम्म बहुमतीय प्रणाली अपनाउनुपर्ने धारणा राख्दै उहाँले जनप्रतिनिधिसँगै पार्टीका नेताहरू पनि कार्यकर्ताबाट निर्वाचित भएर आउनुपर्ने बताउनुभयो । अन्य राजनीतिक दलको तुलनामा एमाले लोकतान्त्रिक अभ्यास र संगठनात्मक प्रक्रियामा अगाडि रहेको उहाँको दाबी थियो ।
शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू ज्वाला शाह, किसान श्रेष्ठ र सीता सुवेदी, प्रदेश कमिटी सचिव मनोज पौडेल, पूर्वकेन्द्रीय सदस्य सरस्वती चौधरी, प्रदेश सभा सदस्य देवनारायण चौधरी तथा पूर्वप्रदेश सभा सदस्य सुन्दर विश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष कैमुदीन अन्सारीले गर्नुभएको थियो भने सञ्चालन रविन्द्र खकुरेलले गर्नुभएको थियो ।




