सप्तरङ्गी सहकारीको ३३ लाख नाफा, शेयर सदस्यलाई ११ प्रतिशत लाभांश

रञ्जन यादव /बारा ३० असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–डुमरवानास्थित सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷०८३ मा ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाको १५औँ वार्षिक साधारण सभाले शेयर सदस्यलाई ११ प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिएको छ ।संस्थाकी अध्यक्ष शिवा केसीको अध्यक्षतामा सम्पन्न साधारण सभामा ९१ वर्षीया ज्येष्ठ शेयर सदस्य लक्ष्मीमाया गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । सभामा संस्थाको आर्थिक अवस्था, सहकारी क्षेत्रका चुनौती र आगामी योजनाबारे छलफल गरिएको थियो ।

सभामा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार समिति सदस्य राजु अधिकारीले पछिल्लो समय सरकारले सहकारीसम्बन्धी नीति तथा नियममा बारम्बार परिवर्तन गर्दा सहकारी सञ्चालनमा कठिनाइ थपिएको बताउँनुभयो । केही ठूला सहकारीमा देखिएका समस्याका कारण समग्र सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बढेको उल्लेख गर्दै उनले सबै सहकारीलाई एउटै दृष्टिकोणले हेर्न नहुने धारणा राख्नुभयो ।सहकारीप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शी र विश्वसनीय ढङ्गले संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अधिकारीले चुनौतीपूर्ण अवस्थाका बीच पनि सप्तरङ्गी सहकारीले शेयर सदस्यलाई ११ प्रतिशत लाभांश वितरण गर्न लागेको बताउँनुभयो ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले सदस्यलाई लाभांश वितरण गर्न सक्नु सहकारीका लागि सकारात्मक उपलब्धि भएको बताए । स्थापना भएको १४ वर्षमै सप्तरङ्गी सहकारीले जीतपुरसिमरा उपमहानगरपालिकाभित्र उत्कृष्ट सहकारीका रूपमा पहिचान बनाउँदै गएको उनको भनाइ थियो ।पछिल्लो समय केही समूहले सहकारी तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न आह्वान गरिरहेको प्रसङ्ग उल्लेख गर्दै ठाकुरले लगानी गर्दा पर्याप्त अध्ययन र सावधानी अपनाउन सहकारी संस्थाहरूलाई आग्रह गरे । सरकारले सहकारी सञ्चालनसम्बन्धी नीति तथा कार्यविधिमा निरन्तर परिवर्तन गर्दा संस्थाहरूलाई काम गर्न असहज भइरहेको उहाँले बताउँनुभयो ।
सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने प्रयासमा संस्थाहरूलाई न सहज रूपमा सञ्चालन गर्न सकिने न त कानुनी रूपमा बन्द गर्न सकिने अवस्था सिर्जना हुनुपर्ने उल्लेख गर्दै ठाकुरले जिल्ला बचत तथा ऋण सहकारी संघको आर्थिक गतिविधिमा समेत सीमितता लगाउने निर्देशनले अन्योल बढाएको बताउँनुभयो ।
सभामा अध्यक्ष केसीले संस्थागत प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । लेखा संयोजक लवप्रसाद थपलियाले लेखा प्रतिवेदन र कोषाध्यक्ष विदुर खड्काले प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताका रूपमा रमेश बछार, उत्कृष्ट दैनिक बचतकर्ताका रूपमा रवि तामाङ तथा उत्कृष्ट कारोबार गर्ने सदस्य सचिता चौधरीलाई सम्मान गरिएको थियो । संस्थाको व्यवस्थापनमा योगदान पु¥याउने कर्मचारीहरूलाई व्यवस्थापक गुनराज ढकालले मायाको चिनो प्रदान गरेका थिए ।यसै अवसरमा समाजसेवामा योगदान पु¥याएको भन्दै दीपकप्रसाद चौधरीलाई सप्तरङ्गी समाजसेवा पुरस्कार–२०८३ प्रदान गरिएको थियो । चौधरीलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
साधारण सभामा सहभागी शेयर सदस्यहरूले बदलिँदो परिस्थितिमा सदस्यको बचत सुरक्षित राख्ने, आर्थिक अनुशासन कायम गर्ने र सहकारीप्रतिको विश्वास अझ मजबुत बनाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।